काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौंमा एक दिवसीय सेल्स ट्रान्सफरमेशन सेसन आयोजना गर्दै चालु आर्थिक वर्ष २०८१/८२ को बाँकी अवधिका लागि रणनीतिक योजना तयार गरेको छ । उक्त कार्यक्रम कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा कम्पनीका सञ्चालक अग्रवालले चुनौतीपूर्ण परिस्थितिका बाबजुद कम्पनीले हासिल गरेका उपलब्धिप्रति कृतज्ञता व्यक्त गर्दै, जीवन बीमा केवल कागजी दस्ताबेज नभई भविष्य सुरक्षित गर्ने माध्यम भएको बताए । उनले बीमाको चेतना अभिवृद्धिमा नेपाल लाइफकर्मीको भूमिका अझ प्रभावकारी बनाउन आग्रह गरे ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीको २५ औँ वर्षमा प्रवेशसँगै ऐतिहासिक लक्ष्यहरू तय गरिएको जानकारी गराउँदै, ती लक्ष्यहरू प्राप्तिका लागि सबै तहका कर्मचारी र अभिकर्तालाई धन्यवाद ज्ञापन गरे । साथै, निकट भविष्यमा ग्राहकले डिजिटल माध्यमबाट सेवा प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको उल्लेख गरे ।
सेसनमा नेशनल सेल्स हेड उमापति पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, प्रादेशिक प्रमुखलगायतले आ–आफ्नो विभागीय प्रतिवेदन प्रस्तुत गर्दै सेल्स रणनीति र बीमा पहुँच विस्तारमा सक्रियता बढाउने प्रतिबद्धता व्यक्त गरे ।
समापन मन्तव्यमा नायव प्रमुख कार्यकारी अधिकृत कयालले जीवन बीमा क्षेत्रमा भइरहेका विश्वव्यापी रूपान्तरणलाई आत्मसात गर्दै कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्सलगायत नवीनतम प्रविधि अपनाउने प्रतिबद्धता व्यक्त गरे ।











