Logo
Logo

एसपीभन्दा सई शक्तिशाली, भानु देउवाको दबाबमा सरुवा रोकियो


77.9k
Shares

बारा । जिल्ला प्रहरी कार्यालयको नेतृत्व प्रहरी बरिष्ठ उपरीक्षक(एसपी)ले गर्दछन् । तर बारामा भने प्रहरी नायब निरीक्षक(सई)ले जिल्ला चलाउँदैआएका छन् ।

जिल्लामा एसपी फेरिन्छ तर सई फेरिंदैनन्, उनलाई कसैले चलाउन सक्दैनन् । जिल्लाका एसपीबिरुद्ध सई र फेसबुकेले जथाभावी लेखे पनि सई बिरुद्ध लेख्ने आँट कसैले गर्दैनन् । ती सई दिनभरी कार्यालयमा उपरखुट्टी लगाई सिपाही–हवलदालाई क्राइम कन्ट्रोलका नाममा असुलीमा खटाउँछन् । बेलुका जिल्लाका खुद्रेदखि ठूला गृहमन्त्रालय चलाउने पार्टीका नेताहरु राखेर रात्रिभोज गर्दछन् ।

एसपीलाई पनि दिनभरीको केही हिस्सा दिएपछि उनी पनि चुप लाग्न बाध्य हुने गरेका छन् । एसपीेले सईलाई हटाउन खोज्दा कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवासमेतको दबाब आएपछि सई कति शक्तिशाली हुन् भन्ने थाहा पाएर उनी जो हात सो साथमै खुसी हुनुपर्ने अवस्थामा छन् ।

यो कथा भारत बिहारको होइन, बिहारसँगै सीमा जोडिएको नेपालकै मधेश प्रदेशको बारा जिल्लाको हो । ती शक्तिशाली बरिष्ठ सई हुन्–विनोद काफ्ले र रोशन अधिकारी । बरिष्ठ सई अधिकारी विगत १ बर्षभन्दा बढी समयदेखि बाराको आकर्षक मानिने पथलैया पोष्टको इन्चार्ज छन् । काफ्ले ३ वटा एसपी फेरिंदा पनि हैकम जमाउँदै बारा प्रहरीको क्राइम चलाइरहेका छन् । सुरेश काफ्ले, महेन्द्र खड्का र पछिल्लो समय सन्तोष तामाङ एसपीका रुपमा बारामा आउँदा पनि काफ््लेको रजगज यथावत छ ।

मधेशमा प्रहरीमा जरा गाडेर बर्षौ राज गरेका बरिष्ठ सई सागर राणालाई निवर्तमान आईजीपी बसन्तबहादुर कुँवरले बाराबाट लखेटेपछि बारा प्रहरीको क्राइम बरिष्ठ सईद्वय रोशन अधिकारी र बिनोद काफ्लेले मिलेर चलाउँदैआएका छन् ।

बाराका एसपी सन्तोष तामाङले बरिष्ठ सई रोशन अधिकारीलाई पथलैयाबाट हटाउन खोज्दा भानु देउवाको दबाबका कारण सकेनन् । त्यसपछि सर्पको खुट्टा सर्पले नै देख्छ भन्ने उखानझैं बदनाम असई मनोज यादव र महम्मद हुुसेनलाई एसपी तामाङले तस्करी रोक्न परिचालन गरे । एसपी तामाङ रसुवा जस्तो आकर्षक नाकामा बसेर कन्टेनरबाट हुँदै आएको ब्यापार देखेकाले बाराका मोटरसाइकल र साइकलमा तस्करी गर्नेहरु देखेर बिरक्तिएपछि बाराबाट तस्करीको लाइन नै बन्द गर्ने निर्णय जिल्लाको स्टाफ मिटिङमा सुनाए ।

एसपीले तस्करी बन्द गरे पनि काफ्लेले खुरुखुरु लाइन चलाएपछि मनोज यादव र हुसेनको टीमले धमाधम सामान बरामद गर्दै भन्सार कार्यालय बीरगंज पठाउन थाले । भन्सारछलीका सामान र ब्यापारीलाई नियन्त्रणमा लिन थालेपछि तीमध्ये कोही कांग्रेसका मधेश प्रदेशका उपसभापतिका लगानीकर्ता थिए त कोही कांग्रेसकै बारा जिल्ला सचिवका नियमित साँझको जमघटको बिल तिरिदिने थिए । धमाधम तस्कर समातिएपछि कांग्रेसको डेलिगेसन गृहमन्त्री रमेश लेखकोमा पुग्यो । लेखकको निर्देशनले उजुरी प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन शाखाले तस्कर समात्ने असई यादव र हवल्दार हुसेनलाई झिकाउने आदेश दियो ।

तस्कर समात्ने असईलाई जोगाउन एसपी तामाङले सकेनन् । यादव र हुसेन तानिएपछि फेरि जिल्लामा बिनोद काफ्लेको संरक्षणमा तस्करीको लाइन पूर्ववत चलिरहेको छ ।

प्रहरी प्रधान कार्यालयको उजुरी शाखा प्रमुख एसएसपी कृष्ण कोइरालाले काफ्ले, रोशन र चन्दन यादवलाई छानबिनको दायरामा ल्याउन खोजे पनि असफल भएका छन् । बुढानीलकन्ठका भानुको आशीर्वाद भएपछि बाराका एसपी र उजुरी छानबिनका कमाण्डर कोइरालाको केही जोड चल्न सकेन ।

प्रतिक्रिया दिनुहोस्