काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले आगामी संसदको अधिवेशनमा शिक्षकका माग पूरा हुने गरी विद्यालय शिक्षा विधेयक पारित गर्ने बताएका छन्।
बुधबार सभामुख देवराज घिमिरेले र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग भएको छलफलबारे पत्रकारहरूलाई जानकारी दिँदै उनले वैशाख १२ गतेदेखि सुरू हुने बजेट अधिवेशनबाटै शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धता व्यक्त गरे।

संसद अधिवेशनको नियमित कार्यसूचीका नीति तथा कार्यक्रमलाई केही दिन होल्ड गरेर भए पनि शिक्षा विधेयक पारित गर्ने उनको भनाइ छ।
उनले शिक्षा उपसमितिमा छलफल भइरहेको शिक्षा विधेयक समितिमा पुगेपछि संसदमा आउन वैशाख महिनाको अन्तिम सातासम्म लाग्न सक्ने बताए।
ऐन कानून निर्माणको आफ्नै विधि र प्रक्रिया रहेकाले केही समय लाग्ने बताए। उनले शिक्षकहरूमा शिक्षाप्रतिको जबाफदेहिता भएकाले आन्दोलन फिर्ता लिएर शैक्षिक गतिविधिमा जोडिन आग्रह गरे।
सरकारले जनाएको प्रतिबद्धतालाई शिक्षकहरूले सकारात्मक ढंगले ग्रहण गर्नुपर्ने उनको भनाइ छ।
उनले भने, ‘सार्वजनिक शिक्षाप्रतिको उहाँको जबाफदेहिता के छ? उहाँहरू स्वयंले जान्नुहोस्। त्यसप्रति जबाफदेहितामा उभिनुपर्छ होला भन्ने ठान्नुहोस् तर सरकारले उहाँहरूको न्यायोचित मागहरू पूरा गर्छ भन्ने कुरामा, समयमै विधेयक आउने कुरामा संसदले काम गरिरहेको छ। एकदिन पनि समितिबाट आएको प्रतिवेदन एकदिन पनि होल्ड नगरी अन्य सरकारी बिजनेसलाई होल्ड गरेर भए पनि पार्लियामेन्टमा विधेयक आएपछि एकदिन पनि ढिलो नगरीकन हामी यो विधेयक पारित गर्छौं।’











