काठमाडौं । गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनका क्रममा घरमा आगजनी गरेको आरोपमा अनवरत तत्पर फौज (एटीएफ)का दुई कार्यकर्ताविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरु भएको छ ।
प्रहरीले पक्राउ गरेका रामेछाप, सुनापति–१ का २२ वर्षीय सरोज गौतम र अछाम, पञ्चदेवलका २० वर्षीय गोकर्ण शाहीविरुद्ध कर्तव्य ज्यानसहित अन्य कसुरमा अनुसन्धान अघि बढाएको हो ।

उनीहरूले सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारीको भवनमा आगो लगाएको भिडियो र अन्य प्रमाण फेला परेको प्रहरीको दाबी छ । सोही आगजनीमा पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो ।
प्रदर्शनका मुख्य योजनाकार दुर्गा प्रसाईंविरुद्ध पनि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ। प्रसाईंलाई प्रहरीले चैत २८ मा भारतको आसामबाट पक्राउ गरेको थियो । उनको नेतृत्वमा भएको उक्त प्रदर्शनमा प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जन र आगजनीमा परी पत्रकार रजकको मृत्यु भएको थियो ।
प्रहरीका अनुसार प्रदर्शनमा संलग्न ८५ जनाविरुद्ध अनुसन्धान अघि बढाइएको छ, जसमध्ये ६४ जना हाल हिरासतमा छन् । २१ जनालाई हाजिरी जमानीमा रिहा गरिए पनि उनीहरूमाथि मुद्दा चल्ने प्रहरीले जनाएको छ ।
प्रसाईंको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को आडमा भएको उक्त प्रदर्शनले निजी सम्पत्तिमा ठूलो क्षति पु¥याएको थियो। घर, पसल, मार्ट र सवारी साधनमा तोडफोड तथा आगजनी भएको थियो भने प्रहरीको बन्दुकसमेत लुटिएको थियो ।
जिल्ला प्रशासन कार्यालयले प्रदर्शनका लागि अनुमति दिए पनि हिंसात्मक गतिविधिका कारण घटनाले गम्भीर रूप लिएको प्रहरीको भनाइ छ ।











