
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । १८ वैशाखदेखि बोलाइएको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले संसद बैठक नियमित बस्ने निर्णय भएसँगै केन्द्रीय समितिको बैठक स्थगित गरिएको जानकारी दिए । अर्को बैठक बस्नेबारे कुनै मिति तोकिएको छैन ।
बुधबार सभामुख देवराज घिमिरे र मुख्य दलका प्रमुख सचेतकहरूको बैठकले पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद् सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णयको केही घण्टामै कांग्रेसले पनि विज्ञप्तिमार्फत बैठक स्थगित भएको जानकारी गराएको हो ।











