काठमाडौं, ५ साउन
भन्सार कार्यालयकै मिलेमतोमा नेपालमा प्रतिबन्धित माछाको आयात र बिक्रि वितरण हुँदै आएको खुलेको छ । क्याटफिसका नामले चिनिने मगुर प्रजातिको माछा भारतबाट ठूलो मात्रामा नेपालमा आयात गरेर बिक्रि वितरण भइरहेको छ ।
ce
आइतबार सुनसरीमा मगुर प्रजातिको ७ हजार केजी माछा जिउँदो माछा बरामद भएको छ । भन्सार छलीको आशंकामा रोकेर चेक गर्दा प्रतिबन्धित माछा आयात भइरहेको खुलेको गृह मन्त्रालय स्रोत बताउँछ ।
यस्तो माछा मांसाहारी भएको र यसले पर्यावरणमा असर पार्न सक्ने भएको यस्तो जिवित माछाको खरिद बिक्रि प्रतिबन्धित छ । यस्तो खोला तथा पोखरीमा राखेर पाल्दा उसले त्यहाँका अन्य जीव खाने भएकाले जिवित माछा बेच्न प्रतिबन्धित छ । अर्काेतर्फ यस्तो माछाको सेवनले स्वास्थ्यमा समेत असर पर्ने भन्दै नेपालमा आयात प्रतिबन्धित छ । फोहोर खुवाएर हुकाईने भएकाले यस्तो माछा स्वास्थ्यका लागि हानिकारक रहेको स्वास्थ्य मन्त्रालयका एक अधिकारी बताउँछन् । मगुर माछा सस्तो हुने भएकाले आयात र बिक्रि वितरण बढेको हो । भारतमै पनि कतिपय राज्यमा यस्तो माछा बिक्रिमा रोक लगाइएको छ । १ नम्बर प्रदेशका प्रहरी प्रमुख डिआईजी ईश्वरबाबु कार्कीले प्रतिबिन्धत माछा बरामद भएको र त्यसको अनुसन्धान भइरहेको बताए ।
भन्सार पनि छली
यस्तो माछा आयात गर्दा भन्सार समेत छली हुने गरेको पाइएको छ । विराटनगर भन्सार कार्यालयबाट पाँच हजार आठ सय केजी मूल्याङकन गरेर आयात गरिएकोमा प्रहरीले बरामद गरी चेकजाँच गर्दा सात हजार केसी रहेको खुलेको छ । यसरी जिवित माछा ल्याउँदा अनिवार्य रुपमा जाँच गुर्नपर्ने भएपनि जाँन नै नगरी आयात भएको पाइएको छ । यसबारे सोमबार पत्रकार सम्मेलनतर्फ थप जानकारी दिइने सुनसरीका एसपी कमल थापाले बताए ।