काठमाडौं । विमानस्थल निर्माण र विस्तारमा अर्बाैँ खर्च हुने गरेको तथ्यसँगै धनगढी विमानस्थल विस्तारमा २५ करोड अपचलन भएकोमा छानबिन सुरु भएको छ ।
पोखरा क्षेत्रीय विमानस्थल निर्माणमा अर्बैँ रुपैयाँ भ्रष्टाचार भएको प्रतिवेदन सार्वजनिक भए लगत्तै धनगढी विमानस्थलमा निर्माण र विस्तारमा २५ करोड हिनामिना भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनगढी विमानस्थल विस्तार परियोजनाबारे अनुसन्धान सुरु गरेसँगै पूर्व मन्त्री प्रेमबहादुर आलेको छटपटी सुरु भएको छ । अख्तियारले चैत २१ को मितिमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र चैत ३१ गते नागरी उड्डयन प्राधिकरणलाई पत्राचार गरी सबै विवरण माग गरिसकेको छ ।
पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको समयमा धनगढी विमानस्थल विस्तारको नाममा २५ करोडौँ रुपैयाँ अपचलन र अनियमितता गरेको विषयमा अख्तियारले कागजपत्र र विवरण मागेपछि पूर्व मन्त्री आलेले विभिन्न सञ्चार माध्यममा रोष प्रकट गर्ने र सञ्चारकर्मी सँगको भेटघाटलाई बाक्लो बनाएका छन् ।
अख्तियारमा परेको उजुरीमा आले मन्त्री भएको बेला तत्कालीन समयमा मन्त्री पदको दुरुपयोग गरी निजी स्वार्थमा सरकारी बजेट दुरुपयोग गरेको उल्लेख छ । मन्त्री हुँदा आलेले नागरिक उड्डयन प्राधिकरणको खाताबाट १ अर्ब रुपैयाँ मेघा बैङ्कमा जम्मा गराएको र सोही रकम धितोमा राखेर पुनः १ अर्ब ऋण लिएको तथा सो ऋणको रकमबाट उनले धनगढी विमानस्थल आसपासको क्षेत्रमा ७५ करोड बराबरको ३० बिघा जग्गा खरिद गरेको उजुरीमा उल्लेख गरिएको छ ।
विमानस्थल वरपर प्रति कट्ठा साढे १२ लाखका दरले जग्गा किनेको पनि उल्लेख गरिएको छ । चुनावको समयमा धनगढी विमानस्थल मात्र होइन दीपायलस्थित डोटी विमानस्थललाई सुचारु गर्ने भन्दै धेरै लामो समयदेखि अभिव्यक्ति दिने गरेका छन् । धनगढी विमानस्थललाई स्तरोन्नतिका लागि जग्गा अधिग्रहण गर्न बजेट विनियोजन गरिएको थियो । विमानस्थलका लागि २५० विघा जग्गा अधिग्रहण गर्ने र धावनमार्ग विस्तार गरी २५ सय मिटर पु¥याउने लक्ष्य राखिएको थियो ।
२०७८ पुस ११ गतेको बैठकमा मन्त्री आलेको अध्यक्षतामा नेपाल नागरिक उड्डयन प्राधिकरणले धनगढी विमानस्थल विस्तारका लागि १ अर्ब रुपैयाँको बजेट विनियोजन गर्ने निर्णय गरेको थियो । धनगढी विमानस्थलसँगै मन्त्री आलेले डोटी विमानस्थलका लागि १८ करोड ६१ लाख, साँफेबगर विमानस्थलका लागि ३ करोड, कमलबजार विमानस्थलका लागि ३ करोड, महेन्द्रनगर विमानस्थलका लागि २ करोड ५१ लाख, बैतडी विमानस्थलका लागि १ करोड ५० लाख, दार्चुला विमानस्थलका लागि २ करोड ६५ लाख, बझाङ विमानस्थलका लागि १२ लाख, बाजुरा विमानस्थलका लागि १८ लाख र डडेल्धुरा विमानस्थलमा सम्भाव्यता अध्ययनका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गराएका थिए ।
धनगढी विमानस्थल विस्तार योजना कार्यान्वयन नहुँदै मन्त्री आले पदमुक्त भएपछि विस्तार योजना अलपत्र परेको थियो । योजनाअनुसार नखर्चिएको रकममध्ये २५ करोड रुपैयाँ पनि अपचलन भएको बताइएको छ । अख्तियारले सो विषयमा मन्त्रालय र नेपाल उड्डयन प्राधिकरणलाई समेत पत्र काटेको छ । प्राधिकरणलाई ७ दिनभित्र सम्बन्धित कागजात एवं स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो । प्राधिकरणले पनि समयमै सबै विवरण दिने जनाएको छ ।
‘अख्तियारले धनगढी विमानस्थल विस्तारको विषयमा भएका निर्णय र गरिएको खर्चको विवरण माग भएको छ त्यो विषयमा सबै कागजात समयभित्रै पठाउने तयारी भएको छ’, नागरिक उड्डयन प्राधिकरणका एक कर्मचारीले भने ।
नेकपा एकीकृत समाजवादी पार्टीका डोटीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य छन् । तर उनी अहिले पार्टीमा निष्क्रिय भएका छन् । पार्टीको महाधिवेशनमा पनि उनी सहभागी भएका थिएनन् । संसदीय समितिको बैठकमा आलेले आफू मन्त्री हुँदा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई पार्टीको दबाबमा आफूले नियुक्त गर्नुपरेको लाचारी प्रकट गरेका थिए । उनले नेताहरूले पैसा लिएर आफूलाई नियुक्तिका लागि दबाब दिएको बताएका थिए । उनले संसदीय समितिको बैठकमै अधिकारीको नियुक्तिमा मोटो रकम चलखेल भएको दाबी गरेका थिए ।











