
काठमाडौं । तिनकुने घटनामा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं र रविन्द्र मिश्र सहित २४ जनालाई अदालतले थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले उनीहरुलाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो । राज्य विरुद्धको कसुरमा अनुसन्धान भइरहेका उनिहरुलाई यसअघि चैत २६ मा काठमाडौं जिल्ला अदालतले १५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।
तीनकुनेमा आयोजित पुर्वराजा समर्थकहरुको प्रदर्शन हिंसात्कम बनेपछि प्रहरीले राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र दुर्गा प्रसाईं समेतलाई पक्राउ गरि राज्य बिरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ ।
सो मुद्दामा अनुसन्धान हुँदाहुँदै क्यान्सरको उपचार गर्ने प्रयोजनार्थ राप्रपाका महामन्त्री धवल शमशेर जबरा भने रिहा भएका छन् ।
राज्य विरुद्धको कसुरमा म्याद थप हुनेहरुमा पुस्कर खतिवडा, गोपाल मल्ल, मुनिन्द्र राज भण्डारी, गोपिकृष्ण खड्का, सन्तोष चौधरी, रामकुकमार धिमाल, पशुपति खड्का, हरिहर चौलागाईं, विष्णु पराजुली, तेजेन्द्र रायमाझी, सन्तोष कुमार सिलवाल, सरोज गौतम, गोकर्ण शाही र दुर्गा प्रसाईंका सहयोगी दीपक खड्का लगायत २४ जना छन् ।











