Logo
Logo

विद्यालाई रोक्न सफल होलान् ओली ? 


4.7k
Shares

काठमाडौं । देशको अभिभावकीय भूमिका निर्वाह गरिसकेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको सक्रिय राजनीतिमा लगभग फर्किसकेकी छन् । 

एमालेका विभिन्न संगठनात्मक गतिविधि र सार्वजनिक कार्यक्रममा उनको सक्रियता बढेको छ । भण्डारी पक्षधर नेताहरूले जिल्ला तहमा निर्वाचनमार्फत प्रभाव विस्तार गरिरहेका छन् ।

तर, प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई लक्षित गर्दै नेतृत्वको विकल्प नखोज्न चेतावनी दिँदै आएका छन् । ओलीले आफूबिना एमाले १५–२० वर्षसम्म चल्न नसक्ने दाबी बारम्बार गर्दै आएका छन् । 

भण्डारीको सक्रियताले एमालेभित्र ओलीको एकलौटी नेतृत्वप्रति असन्तुष्ट समूहलाई उत्साहित बनाएको छ । पार्टीमा ओलीका कदमलाई एकपक्षीय ठान्ने नेताहरू भण्डारीको आगमनलाई असन्तुष्टि साम्य पार्ने र अन्य कम्युनिस्ट घटकलाई एकजुट बनाउने अवसरका रूपमा हेरेका छन् । 

यता, ओलीले भण्डारीलाई आफ्नो विकल्पका रूपमा हेरिन थालेकोमा असन्तुष्टि जनाउँदै आएका छन् । ओलीले एमालेभित्र आफूविरुद्धको ‘रहस्यमयी घेराबन्दी’ तोड्ने प्रयास तीव्र पारेका छन् । उनले आफू सत्तामा फर्किएको र एमाले निर्माणमा आफ्नो भूमिका कायम रहने बारम्बार दोहो¥याएकाछन् । तर, ओलीमाथि पार्टीमा सिन्डिकेट चलाएको आरोप लाग्दै आएको छ । 

केही समयअघि भण्डारीले एक अन्तर्वार्तामा ओलीको स्वास्थ्य र उमेरलाई लिएर प्रश्न उठाएपछि ओलीले सार्वजनिक रूपमा आक्रोश व्यक्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७६औं स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले नै कसैले हतार गर्न नहुने बताए । 

उनले भने, ‘कतिपयलाई मेरो उमेर र मेरो स्वास्थ्यको चिन्ता छ । अहिले म बिरामी छैन । अबको २०–२५ वर्षपछि बुढो हुन्छु । कसैले हतार गरेर हुँदैन । केपी ओलीविनाको एमाले कसैले कल्पना गरेको छ भने त्यो पूरा हुँदैन ।’ 

भण्डारीलाई अगाडि बढाउन चाहनेहरूतर्फ लक्षित गर्दै ओलीले भनेका छन्, ‘कसैले एमालेविनाको देश र केपी ओलीविनाको एमाले खोजेका होलान्, तिनको मनसाय राम्रो भए त म सरक्क छाडिदिने थिएँ । एमालेविनाको नेपाल हेरौँला, मिसन २०८४ मा, हामी झन् बलियो भएर आउनेछौँ ।’

देशकै सबैभन्दा ठूलो पदमा आसीन भइसकेको व्यक्तिले पार्टीसँग सल्लाहविना राजनीतिमा सक्रिय हुन खोज्नु र अरूले खेल्न चाहनुले राम्रो सन्देश नगएको बताए । ‘हाम्रो अध्यक्षले खुलेरै पटक–पटक पूर्व राष्ट्रपतिलाई सम्मान गर्ने भन्दै आवश्यक परे पार्टीकै सल्लाहमा राजनीतिमा ल्याउने बताउँदै आउनुभएको छ,’ ती नेता भन्छन्, ‘तर एकातिर पूर्व राष्ट्रपतिले नै गम्भीर अर्थ लाग्ने गरी प्रधानमन्त्रीको स्वास्थ्य र उमेरको कुरा गर्नुभयो । त्यसपछि केही नेताहरू एमालेमा खेल्न सकिन्छ कि, जिस्क्याइरहौं भनेर लागेका छन् । यस्तो कुरालाई अध्यक्षले काउन्टर दिनुभएको हो ।’

यसअघि पनि ओलीले एमालेमा २० वर्षसम्म आफ्नो विकल्प नखोज्न चेतावनी दिएका थिए । २०८० साउनमा ओलीले पत्रकार सम्मेलनमै भण्डारीलाई राजनीतिमा ल्याउने विषयमा मलजल नगर्न सचेत गराएका थिए । 

उनले भनेका थिए– ‘पूर्वराष्ट्रपतिजीलाई पटक–पटक भेटेको छु । तर, त्यसैलाई मुख्य आधार बनाएर उहाँलाई राजनीतिमा फर्काउने प्रयास भयो भनेर बुझ्नुहुँदैन । यस्ता खालका प्रयासमा मलजल नगरेकै राम्रो हो । उहाँ (भण्डारी) एमालेको नजिकको मित्र हो, राष्ट्रपति भइसकेको व्यक्ति सबैको आदरणीय हुनुहुन्छ । उहाँप्रति हामी सबैको सम्मान छ, तर, उहाँ राजनीतिमा फर्किने गरी आवश्यकता छैन । उहाँले चाहना पनि राख्नुहुन्न ।’

मदन भण्डारीको विरासत र भण्डारीको आधार

भण्डारीको राजनीतिक पुनरागमनको प्रमुख आधार मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जबज) को विरासत मानिन्छ । जबजको जगमा एमाले संसदीय राजनीतिमा ठूलो दल बनेकाले भण्डारीलाई नेतृत्वमा स्विकार्न सहज हुने एमालेको ठूलो पङ्क्तिको बुझाइ छ ।

मदन भण्डारी फाउन्डेसन, प्रतिष्ठान, स्पोट्र्स एकेडेमी, स्वास्थ्य प्रतिष्ठान र विश्वविद्यालयजस्ता संरचनामार्फत जबजलाई सामाजिक काम र विकाससँग जोड्ने काममा भण्डारी स्वयं सक्रिय छिन्। उनले जबजको माध्यमबाट अभियान चलाउनसमेत आग्रह गरिसकेकी छन् ।

चुनौती र सम्भावना

राष्ट्रपति हुँदा भण्डारीको सुझावमा मुख्यमन्त्री, मन्त्री, सांसद, संवैधानिक नियुक्ति र पार्टीका मनोनीत केन्द्रीय सदस्य छनोटमा प्रभाव परेकाले उनी सक्रिय राजनीतिमा फर्किए शक्तिशाली नेतृत्वका रूपमा स्थापित हुने सम्भावना छ । तर, पार्टी र सत्तामा आफ्नो वर्चस्व कायम राख्न चाहने ओली र उनको समर्थक समूहलाई चिर्दै स्वीकार्यता स्थापित गर्न भण्डारीका लागि चुनौतीपूर्ण हुनेछ । 

पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीतिमा फर्कने प्रयास र ओलीको चेतावनीले एमालेको आन्तरिक गतिशीलता तनावपूर्ण बनेको छ । भण्डारीको सम्भावित उदयले पार्टीभित्रको शक्ति सन्तुलन र कम्युनिस्ट आन्दोलनको भविष्यलाई नयाँ दिशा दिन सक्छ, तर यो यात्रा सहज भने हुने छैन ।

माओवादीको रणनीतिः ओलीमाथि दबाब

यता, नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टी जिम्मेवारीमा फर्काएर भण्डारीको बाटो सहज बनाउने सन्देश दिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्कन कुनै अवरोध नहुने बताएका छन् ।

प्रचण्डले ओलीलाई सरकार र पार्टी नेतृत्वबाट हटाउने रणनीति कूटनीतिक ढंगले अघि बढाइरहेको देखिन्छ । तर ओलीले भने माधवकुमार नेपालदेखि प्रचण्डसम्मलाई विभिन्न टिप्पणीमार्फत प्रहार गर्दै आएका छन्, जसले वामपन्थी एकताको सम्भावनालाई कमजोर बनाएको विश्लेषण भइरहेको छ ।

प्रचण्डले वामपन्थी एकताको प्रयासबाट कहिल्यै नथाक्ने बताए पनि नेकपा स्थापनाको ७६औं वर्षगाँठका अवसरमा वामपन्थी दलहरूबीच आरोप–प्रत्यारोपले माहोल तनावपूर्ण बनेको छ । नेकपा एकीकृत समाजवादीले माओवादीलाई ‘अवसरवादी’ भन्दै आलोचना गरेको छ । 

यद्यपि, प्रचण्डले ओलीविरुद्धको रणनीतिमा ध्यान केन्द्रित गर्दै भण्डारीलाई सक्रिय बनाउन जोड दिइरहेका छन् । यो रणनीति एमालेको शक्ति संरचनामाथि प्रहार र माओवादीको राजनीतिक स्पेस विस्तारका लागि सहज हुने उनको ठम्याइ छ ।

एमालेको नेतृत्वमा ओली र भण्डारीबीचको तनाव र माओवादीको रणनीतिक चालले नेपालको वामपन्थी राजनीति नयाँ मोडमा पुगेको छ । यो परिदृश्यले आगामी दिनमा ठूलो राजनीतिक उथलपुथलको संकेत गरेको छ । 

प्रतिक्रिया दिनुहोस्