Logo
Logo

लोडसेडिङ भएपछि प्राधिकरणले भन्यो- भारतले बिजुली दिएन


4.2k
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)का कारण माग उच्च भएपछि विद्युत् खरिदमा समस्या भएको जनाएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले माग र आपूर्तिबीचको सन्तुलन मिलाउन नसक्दा उद्योगहरूमा लोडसेडिङ गर्नुपरेको जानकारी दिएको हो ।

सुक्खा मौसम र नदीनालामा बहाव घटेको कारण जलविद्युत् उत्पादनमा असर परेको प्राधिकरणको भनाई छ । प्राधिकरणका अनुसार, जलाशय र सौर्य ऊर्जासहित आन्तरिक उत्पादन औसतमा एक हजार १७५ मेगावाट मात्र रहेको छ । तर, देशको उच्चतम माग (पिक लोड) दुई हजार ७७ मेगावाट पुगेसँगै उत्पादन र मागबीच ठूलो अन्तर देखिएको छ । यसका कारण भारतबाट विद्युत् आयात गरेर आपूर्ति गर्नुपरेको र चाहेजति बिजुली किन्न नपाइएको प्राधिकरणको भनाइ छ ।

मैनैया–सम्पतिया १३२ केभी लाइनबाट बिहान २ देखि ६ बजेसम्म र बेलुका ६ देखि ७ बजेसम्म गरी जम्मा ५० मेगावाट विद्युत् आपूर्ति भइरहेको प्राधिकरणले जनाएको छ । ऊर्जा खरिद बिक्री बजार (आईईएक्स)मार्फत पनि विद्युत् खरिदको प्रयास भइरहेको छ । बिहान ६ देखि बेलुका ५ बजेसम्म र राति ११ देखि बिहान ४ बजेसम्म आईईएक्सबाट आपूर्ति लिने प्रयास गरिए पनि अत्यधिक मागका कारण नेपाललाई प्रो–रेट आधारमा मात्रै विद्युत् प्राप्त भइरहेको छ । यसले गर्दा मागको तुलनामा अत्यन्तै कम आपूर्ति भइरहेको छ ।

यसबीचमा केही औद्योगिक क्षेत्रहरूमा अस्थायी लोड कटौती गरिएको भए पनि माग र आपूर्तिको सन्तुलन मिलाउन अधिकतम प्रयास भइरहेको प्राधिकरणले जनाएको छ । निकट भविष्यमा नदीमा बहाव बढ्ने र भारतबाट आपूर्ति सुधारिने अपेक्षा गरिएकोले हालको समस्या चाँडै समाधान हुने प्राधिकरणको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्