
काठमाडौं । नेकपा माओवादी केन्द्रले शिक्षक आन्दोलनप्रति सरकारको संवेदनशीलता घटेको निष्कर्ष निकालेको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा विहीबार बिहान बसेको बैठकले शिक्षा मन्त्री फेरबदलबाट शिक्षक आन्दोलनप्रति सरकारको संवेदनशीलता घट्दै गएको निष्कर्ष निकालेको हो ।
साथै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकका मागहरू सम्बोधनका लागि सडक र सदनबाट सरकारलाई दबाब पुग्ने गरी भूमिका खेल्न सांसदहरूलाई निर्देशन दिएका छन् ।
पछिल्लो राजनीतिक परिदृश्य, सरकारको कार्यशैली, पार्टीको भूमिका र जनअपेक्षाबारे सांसदहरूबीच विस्तृत छलफल भएको थियो ।
प्रचण्डले पार्टीले सञ्चालन गरेको यथास्थिति र प्रतिगामी प्रवृत्तिविरुद्धको अभियान सफल भएको दाबी गर्दै हुलाकी राजमार्ग केन्द्रित अभियान र काठमाडौंमा आयोजित जनप्रदर्शनमा व्यापक जनसमर्थन देखिएको बताए ।
काठमाडौंमा यथास्थिति र प्रतिगमनविरुद्ध आयोजना गरिएको विशाल जनप्रदर्शनमा समाजवादी मोर्चाभित्र देखिएको एकताले पार्टीको गरिमा अझ उचो बनाएको उनको भनाइ थियो ।











