काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख सल्लाहकार इलन मस्कले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)अन्तर्गतका सबै परियोजनाहरु बन्द गर्ने तयारी गरेका छन् ।
समाचारमा जनाइएअनुसार डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी (डोज) प्रमुख बनाइएका मस्कले सरकारी खर्च कटौतीका लागि यी कदम चाल्न लागेका हुन् । मस््कले अब चाँडै एमसिसी परियोजना बन्द गरेर सरकारको खर्च कम बनाउने प्रक्रिया थालिसकेको अमेरिकी मिडिया सिएनएले उल्लेख गरेको छ ।

बुधबार डोजले एमसिसी परियोजनामा आबद्ध कर्मचारीहरूलाई इमेल पठाएर परियोजना चाँडै बन्द हुने जानकारी गराएको हुन् । परियोजना बन्द गर्न लागिएकाले उक्त परियोजनाका कर्मचारी पनि कटौती गर्ने भनेर डोजले एमसिसीका कर्मचारीहरूलाई इमेल गरेको समाचारमा उल्लेख छ । कर्मचारीहरुलाई स्वेच्छिक अवकासका लागि निवेदन दिन पनि भनिएको सिएनएनले जनाएको छ ।
‘हामी एमसिसी परियोजनाका कार्यक्रमहरू रोक्दैछौं’ मक्सले पठाएको इमेलमा भनिएको छ, ‘यससँगै यसका कर्मचारीहरू पनि कटौती गर्दैछौं ।’
परियोजनाले नेपालसहित २० देशमा विभिन्न काम गर्दै आएको छ । यसमा ३२० जना कर्मचारी रहेको बताइएको छ । तत्कालका लागि सिइओबाहेकका सबैलाई हटाउने तयारी भएको समाचारमा जनाइएको छ ।
परियोजना कहिलेदेखि बन्द हुन्छ भन्नेचाहीँ खुलाइएको छैन । तर, कर्मचारीहरूलाई पठाइएको इमेलमा ९० दिनभित्र एमसिसीका सबै परियोजना बन्द गरिने भनिएको छ । परियोजना बन्द हुँदा नेपालसहित २० देश प्रभावित हुने भनेर अमेरिकी मिडियाहरूले उल्लेख गरेका छन् ।
अमेरिकाले नेपालका लागि एमसिसीमा ५० करोड अमेरिकी डलर अनुदान सहयोग गरेको छ । उक्त अनुदान नेपालको विद्युत प्रसारण लाइन निर्माण र सडक मर्मतमा खर्च गर्ने उल्लेख छ । यसअघि एमसिसी कार्यान्वयन गर्ने निकाय एमसिएले गत चैत ८ गते अमेरिकाले सबै काम रोक्न नपर्नेगरी पत्र पठाएको भनेर विज्ञप्ती जारी गरेको थियो ।











