
काठमाडौं । भारत प्रशासित राज्य जम्मु कश्मीरको उधमपुरमा सुरक्षा बल र आतंककारीहरूबीच भिडन्त हुँदा एक सैनिक मारिएका छन् ।
सेनाको ह्वाइट नाइट कोप्र्सले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार आतंककारीसँगको मुठभेडमा एक सैनिक मारिएका हुन् । ‘हाम्रा एक बहादुरलाई सुरुवाती मुठभेडमा गम्भीर चोट लागेको थियो । र पछि उपचारका क्रममा उनको मृत्यु भयो,’ कोप्र्सले भनेको छ ।
सुरक्षा बल र आतंककारीहरूबीच भिडन्त अझै जारी रहेको बताइएको छ । मंगलबार (अप्रिल २२) मात्र जम्मु–कश्मीरको पहलगामको घाटीमा आतंकवादी हमला हुँदा एक नेपालीसहित २६ जना मारिएका थिए ।
उक्त आक्रमणको जिम्मेवार पाकिस्तान रहेको आशंका गर्दै भारतले सिन्धु जल सन्धि निलम्बन, अटारी सीमा बन्द गर्नेलगायत विभिन्न आक्रामक ५ निर्णय गरिसकेको छ ।











