Logo
Logo

आवासीय चिकित्सकलाई ४८ हजार ७ सय तलब दिनेमा स्वास्थ्यमन्त्री सकारात्मक 


630
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजले आवासीय चिकित्सकलाई मासिक ४८ हजार ७ सय रुपैयाँ तलब दिन अस्वीकार गर्न नमिल्ने स्पष्ट पारेका छन् ।

स्वास्थ्य मन्त्रालयमा मङ्गलवार बसेको वार्ताका क्रममा मन्त्री पौडेलले चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयन अनिवार्य हुने बताएका हुन् । उनले भने, ‘निजी मेडिकल कलेजले आयोगको निर्देशन अवज्ञा गर्न सक्दैन, निर्णय कार्यान्वयन हुन्छ।’

निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरूले सरकारी सरह तलब सुविधा माग गर्दै मन्त्रालय घेरेपछि मन्त्री पौडेलले नेपाल चिकित्सक सङ्घ र आन्दोलनरत चिकित्सकका प्रतिनिधिसँग वार्ता गरेका थिए ।

गत माघ २५ गते बसेको चिकित्सा शिक्षा आयोगको बैठकले आवासीय चिकित्सकलाई सरकारी सेवामा कार्यरत आठौँ तहको तलब सुविधा दिन निर्देशन दिएको थियो। तर, निजी मेडिकल कलेजहरूले सो निर्णय पालना नगरेपछि चिकित्सकहरू आन्दोलित भएका हुन् ।

केही हप्तादेखि माइतीघर मण्डलामा प्रदर्शन गर्दै आएका आन्दोलनरत चिकित्सकहरूले अब भने भोलिबाट देशभर आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्