Logo
Logo

माओवादी केन्द्र काङ्ग्रेससँग नयाँ समीकरणको तयारीमा


22.4k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको आयु छोटो हुने निष्कर्षमा पुगेको छ । मङ्गलवार बसेको माओवादी संसदीय दलको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओली नेतृत्वको सरकार सत्तारुढ दलभित्रकै तीव्र अन्तर्विरोधका कारण ढल्ने निष्कर्ष सुनाएका हुन् ।

प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवाको थाइल्याण्ड भ्रमण सकिएपछि सत्ता समीकरणबारे औपचारिक छलफल सुरु हुने सङ्केत गरेका छन् ।

बैठकमा अध्यक्ष प्रचण्डले माओवादी केन्द्र सरकारभित्र प्रवेश गर्ने भन्दा पनि सरकारबाहिर बसेर काँग्रेस नेतृत्वको वैकल्पिक गठबन्धनलाई समर्थन गर्ने रणनीति प्राथमिकतामा रहेको बताएका छन् । यद्यपि काँग्रेस पक्ष भने माओवादी केन्द्रलाई सरकारमै सहभागी गराउन इच्छुक रहेको देखिएको छ ।

सत्तारुढ गठबन्धनभित्र गहिरिँदो असहमति, आगामी बजेटको तयारीसँगै चुलिँदो द्वन्द्व, गभर्नर नियुक्तिमा जारी अन्योल लगायतका मुद्दाले सरकार सङ्कटमा परेको माओवादीको विश्लेषण छ । माओवादीले ओली सरकार लम्बिँदा अलोकतान्त्रिक अभ्यास र संविधानमाथि नै सङ्कट आउने चेतावनी पनि दिएको छ ।

प्रचण्डले निकट भविष्यमै प्रमुख प्रतिपक्ष दलहरूसँग शिक्षा विधेयक र राष्ट्रिय राजनीतिका विषयमा छलफल गर्ने र त्यसपछि काङ्ग्रेससँग सहमति बनाएर अघि बढ्ने योजना रहेको सङ्केत दिएका छन् ।

राजनीतिक वृत्तमा हाल ‘बजेटअघि सरकार परिवर्तन’ सम्भावनाले चर्चा पाएको छ । काँग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै देउवा फर्केपछि नयाँ रणनीति अवलम्बन गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्