Logo
Logo

भारतले आतङ्कवादविरुद्ध चाल्यो कडा कदम : ६७ सङ्गठन प्रतिबन्धित


2.9k
Shares

काठमाडौं । हालै भारतको जम्मू-कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलापछि भारतीय गृह मन्त्रालयले देशभर सक्रिय रहेका आतङ्कवादी सङ्गठनहरूको सूची सार्वजनिक गरेको छ । भारतमा ६७ वटा सङ्गठनहरूलाई आतङ्कवादी वा गैर कानुनी घोषित गरिएको छ । जसमा ४५ वटा आतङ्कवादी र २२ वटा गैर कानुनी संस्था रहेका छन् । यीमध्ये अधिकांशको पाकिस्तानसँग प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध रहेको जनाइएको छ । 

पहलगाम आक्रमणको जिम्मा टिआफ ले लियो

पहलगाममा भएको आतङ्कवादी आक्रमणमा २६ जना पर्यटकको ज्यान गएको थियो भने २० जना घाइते भएका थिए । यसको जिम्मेवारी ‘द रेजिस्टेन्स फोर्स -टिआफ ‘ नामक सङ्गठनले लिएको छ । जुन लश्कर-ए-तैयबासँग प्रत्यक्ष रूपमा जोडिएको छ । टिआफ लाई भारतीय गृह मन्त्रालयले २०२३ मा आतङ्कवादी सङ्गठन घोषणा गरिसकेको छ ।

पाकिस्तानसँग जोडिएका सङ्गठनहरू

भारतको गृह मन्त्रालयको सूची अनुसार, पाकिस्तानमा आधारित वा पाकिस्तानद्वारा प्रायोजित प्रमुख आतङ्कवादी सङ्गठनहरूमध्ये लश्कर-ए-तैयबा, जैश-ए-मोहम्मद, हिज्बुल मुजाहिद्दीन, अल कायदा, टिआफ लगायत छन् । यी समूहहरूले जम्मू-कश्मीरमा आतङ्कवादी गतिविधि सञ्चालन गर्नुका साथै, सामाजिक सञ्जालमार्फत युवाहरूलाई भारतविरुद्ध उक्साउने कार्य गरिरहेको आरोप भारतले लगाउँदै आएको छ ।

त्यस्तै, खालिस्तान समर्थक सङ्गठन ‘बब्बर खालसा इन्टरनेशनल’ पाकिस्तानको गुप्तचर संस्था आइएसआइ सँग जोडिएको छ । अमेरिकी एजेन्सी ‘एफबिआइ’ को अनुसन्धान अनुसार, भारतमा वाञ्छित एक व्यक्तिलाई अमेरिकामा पक्राउ गरिएको थियो, जसले आइएसआइ र बब्बर खालसाको पक्षमा काम गरिरहेको थियो ।

भारतमा प्रतिबन्धित सङ्गठनहरूमा खालिस्तान कमाण्डो फोर्स, इन्टरनेशनल सिख युथ फेडरेशन, (युनाइटेड लिबरेशन फ्रन्ट अफ असम युएलएफए), नेशनल डेमोक्रेटिक फ्रन्ट अफ बोडोल्याण्ड, माओवादी कम्युनिस्ट सेन्टर, ‘सिपिआई’ (माओवादी), स्टुडेन्ट इस्लामिक मुभमेन्ट अफ इन्डिया एसआइएमआइ अल-बद्र, अल-उमर मुजाहिद्दीन,’एलटिटिइ ‘ लगायत छन् ।

यस्तै, संयुक्त राष्ट्रसङ्घको आतङ्कवादी सूचीमा रहेका सङ्गठनहरू पनि भारत सरकारले प्रतिबन्धित गरिसकेको छ ।

भारतको गृह मन्त्रालयले यस्ता सङ्गठनहरूमाथि निरन्तर निगरानी र कारबाही गरिरहेको जनाएको छ । सङ्गठनहरूलाई प्रतिबन्ध लगाउने, तिनीहरूको सम्पत्ति जफत गर्ने, बैङ्क खाता रोक्का गर्ने, र सदस्यहरूलाई पक्राउ गर्ने कार्य निरन्तर जारी रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्