काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेकपा एमालेले सामाजिक सञ्जालमा भाँडभैलो गरेर उग्र बन्ने संस्कार नसिकाउने बताएकी छन् ।

लोकतन्त्र दिवसको अवसरमा काठमाडौंको भृकुटिमण्डपमा आयोजित ‘युथ सेलिब्रेसन’ कार्यक्रममा बोल्दै डंगोलले एमालेप्रतिको आफ्नो विश्वास स्पष्ट पारिन् । उनले भनिन्, ‘एमालेले कसैको घर जलाउन सिकाउँदैन, कतै लुटपाट गर्न युवालाई प्रयोग गर्दैन । यो पार्टीले दस नङ्ग्रा खियाएर राष्ट्रका लागि काम गर्न प्रेरित गर्छ ।’
उनको भनाइमा, एमालेले युवाशक्तिको सदुपयोग सकारात्मक कार्यको प्रचारप्रसारमा गर्छ, नकि सामाजिक सञ्जालमा उग्रताका लागि । ‘त्यही भएर मलाई एमाले मन पर्छ,’ उनले दोहोराइन् ।
कार्यक्रममा बोल्दै डंगोलले स्टन्ट देखाएर देश बन्न नसक्ने धारणा राखिन् । ‘आज धेरैजना पपुलर बन्न स्टन्ट गर्नुहुन्छ,’ उनले भनिन्, ‘तर स्टन्ट गरेर देश बन्दैन । देश बनाउन काम गर्ने युवा चाहिन्छ ।’
उपमेयर डंगोलले आफू र आफ्नो पार्टी एमाले हाल विभिन्न कोणबाट आक्रमणको चपेटामा परेको पनि उल्लेख गरिन् । ‘हामीलाई चारैतिरबाट आक्रमण भइरहेको छ, तर हामी विचलित हुने छैनौँ । राष्ट्र निर्माणमा समर्पित भएर अघि बढ्नेछौँ,’ उनले प्रस्ट पारिन्।











