
काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरत थापा, उपप्रमुख लीलाकुमारी मोक्तानसहित ६ जनाविरुद्ध वन अतिक्रमणको अभियोगमा जिल्ला अदालत सर्लाहीमा मुद्दा दायर गरिएको छ । वन ऐन २०७६ को दफा ६२(९)अनुसार सागरनाथ वन क्षेत्रको करिब ९८८ हेक्टर वनजग्गा अतिक्रमण गरी निजी ताल निर्माण गरेको आरोपमा वन तथा वातावरण मन्त्रालयले मुद्दा दायर गरेको हो ।
प्रतिवादीमा जिल्ला समन्वय समिति सर्लाहीका पूर्वप्रमुख मिथुर चौधरी, प्रशासकीय अधिकृत विमलकुमार पोख्रेल, लेखा अधिकृत विश्वराज पोख्रेल र इन्जिनियर सागर पौडेल पनि परेका छन् । मुद्दामा १ अर्ब ४९ करोड रुपैयाँ बिगो माग गर्दै ५ वर्षसम्म कैद वा एक लाख रुपैयाँ जरिवाना वा दुवै सजायको माग गरिएको छ ।
थापाले २०७४ सालमा नगर प्रमुख बनेपछि नगर कार्यपालिकाबाट निर्णय गराई ‘भरत ताल’ निर्माण गरेका थिए । दोस्रो कार्यकालमा पनि दोस्रो पोखरी निर्माण अघि बढाएका थिए । यसअघि २०८१ जेठ २९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरू विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ, जुन हाल विचाराधीन छ।











