काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आधारभूत कुरा पूरा गर्न नसकेको बताएका छन् ।

लोकतन्त्र दिवसको अवसरमा बिहीबार आयोजित ‘आजको लोकतन्त्रः अवसर र चुनौती’ विषयक कार्यक्रममा महामन्त्री थापाले जनताको कुरा गर्दा वास्ता नगरे सरकारबाट बाहिरिने चेतावनी दिएका हुन् ।
थापाले भने, ‘हाम्रा केही आधारभूत कुराहरू छन् त्यो पूरा नहुने अवस्था भए सरकारबाट बाहिरिने छौँ । यो सरकारबाट मात्रै होइन हाम्रा कुराहरू सम्बोधन नहुने, जनताको कुरा उठाउँदा वास्ता नगर्ने हो भने जुनसुकै सरकारबाट बाहिरिन्छौँ।’
थापाले पुराना नेताका कारण देशमा बेचैनी बढिरहेको बताए । ‘नागरिकले जसका कारणले असन्तुष्टि र बेचैनी बढिरहेको महसुस गरेका छन्, उसैलाई ड्राइभिङ सिटमा देखिरहेका छन् । हामी अब यो गाडी तिमीले चलाएर हुँदैन भनिरहेका छौँ। यसका लागि काम गरिरहेका छौँ।’











