काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकर्तालाई सरकारभन्दा पनि आगामी निर्वाचनमा ध्यान केन्द्रित गर्न आग्रह गरेका छन् ।
लोकतन्त्र दिवसको अवसरमा बिहीबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘युथ सेलिब्रेसन’ कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हाल नेकपा एमाले र कांग्रेसको गठबन्धन सरकार स्थिरता र स्थायित्वका लागि बनेको हो । यसले निश्चित लक्ष्यसहित काम गरिरहेको छ । त्यसैले सरकारको अवस्थाभन्दा पनि आगामी चुनावमा केन्द्रित हुन आवश्यक छ ।’

ओलीले नेकपा एमाले सधैँ चुनावलाई प्राथमिकतामा राख्ने पार्टी भएको स्पष्ट पारे । ‘हामीले सधैँ चुनाव हेरेका छौँ, सरकार बनाउने र बचाउने मात्र होइन । २०७० को चुनावमा सहभागी भयौँ, अहिले २०८४ को चुनावलाई लक्ष बनाएर अघि बढिरहेका छौँ । ढुक्क भएर मिसन ८४ मा लाग्नुस्,’ उनले भने ।
सरकार ढल्न सक्छ भन्ने अड्कललाई खण्डन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान गठबन्धन स्थिर शासनका लागि बनेको दाबी गरे । उनले लोकतान्त्रिक प्रणालीमा सरकार पाँच वर्षका लागि बनिने बताए । ‘यो कुनै तानाशाही होइन, न त यो कसैको वंशवादी शासन हो। हामीले भनेको स्थिरता भनेको जनताको अभिमतसहितको स्थिरता हो,’ ओलीले प्रष्ट पारे ।
अन्त्यमा उनले संसद्को संरचना अनुरूप देशलाई अगाडि बढाउने प्रयासमा नेकपा एमाले प्रतिबद्ध रहेको उल्लेख गरे । ‘सरकारबारे चिन्ता नगर्नुहोस्, मिसन ८४ मा ध्यान दिनुहोस्,’ भन्दै उनले आफ्नो सम्बोधन टुङ्ग्याए ।











