Logo
Logo

अझै पाँच दिन भारीवर्षा : सही सूचना दिन निर्देशन


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ६ साउन । अझै पाँच दिनसम्म देशभर भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । न्यूनचापीय रेखा नेपाली आकाशमाथि आएर बसेकाले उक्त रेखा नहटेसम्म वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको हो ।
विभागका महानिर्देशक सरजुकुमार बैद्यले मुलुकको मौसमी अवस्थाबारे सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई जानकारी गराएका थिए । सो क्रममा महानिर्देशक बैद्यले यही ९ साउनपछि मात्र क्रमशः पानी पर्नेक्रम कम भएर जाने जानकारी दिएका थिए । उनका अनुसार प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी, प्रदेश–५ र सुदूरपश्चिम प्रदेशमा घना वर्षा भइरहेको छ ।
यसैबीच मौसम पूर्वानुमानबारे जानकारी लिएपछि मन्त्री पुनले पछिल्लो समय नेपालको मौसम पूर्वानुमान प्रणालीमा धेरै सुधार गरिएको बताए । आगामी दिनमा विभागबाट जारी हुने मौसमसम्बन्धी सूचना थप विश्वसनीय बनाउनुपर्नेमा उनले जोड दिए । ‘पहिलाको तुलनामा अहिले हामीले जल तथा मौसमको पूर्वानुमानप्रति विश्वास गर्नसक्ने आधार बनाएका छोँ’, मन्त्री पुनले भने, ‘आगामी दिनमा थप विश्वसनीय बनाउनुपर्छ । उनले मौसम पूर्वानुमानका लागि राज्यले प्रविधि र जनशक्तिमा धेरै लगानी गरेको भन्दै पूर्व सूचना प्रदान गरेर जनताको जीवन बचाउन कुनै कसर बाँकी नराख्न निर्देशन दिए । उनले भने, ‘बाढी र पहिराको सही सूचना सही समयमा दिऔ“, सूचना नपाएका कारण एक जनाले पनि ज्यान गुमाउनु नपरोस् ।’
यस्तै बाढीपहिराको सूचनालाई थप प्रभावकारी बनाउन मंगलबारदेखि अधिक वर्षात् नरोकिएसम्म हरेक दिन मन्त्रालयमा मिडिया ब्रिफिङ गर्न मन्त्री पुनले विभागलाई निर्देशन दिएका छन् । विभागले सोमबारदेखि अरेक दिन बिहान ११ः०० बजे सामाजिक दूरी कायम गर्दै मिडिया ब्रिफिङ गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्