काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले मुलुकमा अराजकता र अस्थिरता चाहने शक्तिहरूले नेपाली समाजलाई अस्थिर बनाउन खोजिरहेको आरोप लगाएको छ । आजबाट सुरु प्रतिनिधिसभाको बजेट अधिवेशनमा पार्टीका तर्फबाट धारणा राख्दै एमाले सांसद गोकर्णराज विष्टले अराजक र अस्थिरतामा मुलुकलाई लैजाने प्रयासलाई संवैधानिक कानुनी तरिकाबाट समाधान गरिने बताए ।

उनले भने, ‘अराजकता र अस्थिरता चाहने शक्तिहरूले नेपाली समाजलाई अस्थिर बनाउन खोजिरहेका छन् । उनीहरूलाई संवैधानिक कानुनी तरिकाबाट समाधान गर्दै व्यवस्था र संसदीय मर्यादालाई बलियो बनाउन सकिन्छ । सरकार त्यो बाटोमा अगाडि बढ्नुपर्छ ।’
विष्टले उत्पन्न भएका अनेक सङ्कटहरूको समाधान लोकतान्त्रिक व्यवस्थाबाटै समाधान गर्नुपर्ने बताए । गत चैत १५ गते राजावादीहरूले काठमाडौँको तीनकुनेमा गरेको हिंसात्मक कार्यक्रमलाई लक्षित गर्दै मुलुकमा उत्पन्न समस्यालाई यही व्यवस्थाभित्र रहेर समाधान गर्न आवश्यक रहेको बताए ।











