काठमाडौं । नेपाल सरकारले सगरमाथा आरोहणका लागि नयाँ मापदण्ड प्रस्ताव गरेको छ । अब सिधै सगरमाथा (एभरेस्ट)चढ्न पाइने छैन, बरु कम्तीमा ७ हजार मिटरभन्दा अग्लो कुनै नेपाली हिमाल आरोहण गरेको प्रमाण अनिवार्य पेस गर्नुपर्नेछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय सभामा दर्ता गराएको ‘पर्यटन विधेयक २०८१’ मा यो व्यवस्था समेटिएको छ । विधेयक पारित भएपछि २०३५ सालको पुरानो पर्यटन ऐन विस्थापित हुनेछ ।
विधेयकअनुसार, सगरमाथा चढ्न चाहने व्यक्तिले पहिला कम्तीमा एक पटक ७ हजार मिटरभन्दा अग्लो नेपाली हिमाल आरोहण गरेको प्रमाण पेस गर्नुपर्नेछ । साथै, आरोहण अनुमति पाउन स्वास्थ्य परीक्षण पनि अनिवार्य गरिएको छ । पर्वतारोहण दलका सदस्य, पथप्रदर्शक, सरदार र सम्पर्क अधिकृत सबैको पछिल्लो एक महिनाभित्रको स्वास्थ्य परीक्षण प्रतिवेदन पेस गर्नुपर्नेछ ।
यसैगरी, हिमाली क्षेत्रबाट प्याराग्लाइडिङ, स्काई डाइभिङ, हेली स्किइङ, अल्ट्रालाइटजस्ता साहसिक गतिविधि गर्न पनि पर्यटन मन्त्रालय वा सम्बन्धित निकायबाट अनुमति लिनुपर्ने प्रावधान विधेयकमा समावेश गरिएको छ ।
त्यसैगरी, एक पटक आरोहण अनुमति लिएर सोही वर्ष चढाइ नगरे दस्तुर फिर्ता नपाउने व्यवस्था छ । यद्यपि, प्राकृतिक विपत्ति वा काबु बाहिरको अवस्थालाई विचार गरी सरकारको निर्णयमा समय सार्न सकिनेछ ।











