काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले भाटभटेनी लुटपाटमा नेपाली कांग्रेसका सहमहामन्त्रीको छोरा पक्राउ परे पनि तुरुन्तै छाडिएको बताएका छन् । चैत १५ गते दुर्गा प्रसाईंको आह्वानमा तीनकुने-कोटेश्वर क्षेत्रमा प्रदर्शन भएको थियो भने कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटमा लुटपाट भएको थियो ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपा अध्यक्षसमेत रहेका लिङ्देनले भने, ‘हामीसँग त रेकर्ड छ गृहमन्त्रीज्यू, भाटभटेनीको लुटपाटमा तपाईँकै पार्टीको सहमहामन्त्रीको छोरा पक्राउ परेको छ । किन तुरुन्तै छोड्नुभयो ? तपाईँको नेताको छोराले रक्सी लिएर गयो । उसले ल्याएको मान्छेले रक्सी खान्न मलाई कपडा काम लाग्छ भनेर कपडा लिएर गयो । पछि भिडिओ हेरेर प्रहरीले पक्रियो । पक्रँदा त नेताको छोरा रहेछ, नेताको छोरालाई छोड्नुभयो ल्याएको मानिस छुटेन। यो कुरा सार्वजनिक गरिदिन्छु भनेपछि दुई घण्टाभित्र तपाईंहरूले छोड्नुभयो, त्यस कारण त्यो सत्य तथ्य सार्वजनिक हुन जरुरी छ।’











