काठमाडौं । देशभरिका पेसाकर्मीहरूको छाता सङ्गठन पेसागत महासङ्घ नेपालले आन्दोलनरत शिक्षकहरूको जायज मागहरू तत्काल पूरा गर्न सरकारसँग आग्रह गरेको छ । महासङ्घले आन्दोलन सुरु भएदेखि नै शिक्षकहरूप्रति ऐक्यबद्धता र समर्थन प्रकट गर्दै आएको छ ।

महासङ्घले २०८१ साल चैत १३ गते तत्कालीन शिक्षामन्त्री विद्याभट्टराईलाई भेटी शिक्षकका मागहरू पूरा गर्न सुझाव दिइएको थियो । तर सरकारले महासङ्घको सुझावलाई गम्भीरतापूर्वक नलिएपछि शिक्षकहरू आन्दोलनमा उत्रिन बाध्य भएको महासङ्घले जनाएको छ ।
शिक्षकहरूले सेवा सुरक्षा, वृत्ति विकास, न्यूनतम तलब, सामाजिक सुरक्षाका सुविधा, ट्रेड युनियन अधिकारको सुनिश्चितता तथा सार्वजनिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रवाह गर्नुपर्ने माग राख्दै आएका छन् । यस्ता विषयमा सरकारले पटक–पटक सम्झौता गरे पनि कार्यान्वयन नगरेकोले आन्दोलन चर्किन पुगेको महासङ्घले जनाएको छ ।











