Logo
Logo

भक्तपुर क्यान्सर अस्पतालमा अवैध बढुवा र भ्रष्टाचारको आरोप, कर्मचारीहरू आन्दोलित


11.4k
Shares

काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालमा अनियमितता र भ्रष्टाचारको गम्भीर आशङ्का उठेको छ । अस्पतालमा कार्यरत कर्मचारीहरूले अस्पतालको व्यवस्थापन पक्षले विधि र प्रक्रिया बिनै गरिएको बढुवासम्बन्धी निर्णयलाई लिएर कडा आपत्ति जनाएका छन् । 

अस्पतालका सम्पूर्ण कर्मचारीले संयुक्त रूपमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र सम्पत्ति शुद्धीकरण विभागलाई निवेदन दिँदै यस्ता गतिविधिमाथि छानबिन र कारबाहीको माग गरेका छन् ।

अस्पतालको व्यवस्थापनले नियमविपरीत निर्णय लिएको आरोप लगाइएको छ । उजुरी अनुसार अस्पतालमा हाल कार्यरत निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसे ९औँ तहका चिकित्सक भए पनि उनलाई गठन आदेशको मापदण्ड विपरीत एक वर्षभन्दा बढी समयदेखि कार्यकारी निर्देशकको रूपमा राखिएको छ।

उजुरीमा भनिएको छ– ‘कार्यरत निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसे ९औँ तहको चिकित्सक हुन् । उहाँलाई मन्त्रालयले कामु होइन कि निमित्तको जिम्मेवारी दिएको छ । राजनैतिक आस्थाको आधारमा १ वर्ष भन्दा बढी देखि गठन आदेश विरुद्ध अवैध रूपमा कामकाज गर्दै आइरहनुभएको छ।’

२०७७ सालमा सरकारद्वारा गठन आदेश जारी गरी स्थापना गरिएको भक्तपुर क्यान्सर अस्पताल अझैसम्म कर्मचारी नियमावली तथा दरबन्दी स्वीकृत नभएको अवस्थामा सञ्चालित छ । थप रूपमा, अस्पताल विकास समितिको पूर्णता नभएको र अध्यक्ष तथा केही पदाधिकारीको कार्यकालसमेत सकिएको उल्लेख गरिएको छ।

उजुरीमा भनिएको छ, ‘२०८१ चैत्र महिनामा निमित्त कार्यकारी निर्देशक, वरिष्ठ अस्पताल प्रशासक र नर्सिङ प्रमुखको मिलेमतोमा विकास समितिले पूर्णता नपाएको मौका छोपी, समितिको निर्णय बिना, कुनै किसिमको विधि, प्रक्रिया नअपनाई ठाडै नियम कानूनको उल्लघंन गरी आफ्नो बढुवा आफैँ गरी र अन्य चिकित्सक तथा प्रशासनिक कर्मचारीको आर्थिक प्रलोभनमा परि मनलाग्दी किसिमले बढुवा गरिएको छ ।’

यस्ता अनियमितता र शक्ति दुरुपयोगका घटनाले संस्था आर्थिक रूपमा धरासायी बन्ने खतरा रहेको जनाउँदै, कर्मचारीहरूले सम्बन्धित पदाधिकारीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा विभागीय कारबाही र सम्पत्ति शुद्धीकरण छानबिन गर्न माग गरेका छन्।

कर्मचारीहरूले माग सम्बोधन नभए आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। यो प्रकरणले भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थापन र पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ।

प्रतिक्रिया दिनुहोस्