Logo
Logo

बलात्कार आरोपी दुधौलीका मेयर जोगाउन राष्ट्रियसभा अध्यक्ष दाहालको कसरत


15k
Shares

काठमाडौं । बलात्कार आरोपमा फरार रहेका सिन्धुलीको दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारीले आफूविरुद्ध प्रहरीमा किटानी जाहेरी पर्नुअघि राष्ट्रियसभा अध्यक्ष नारायण दाहालसँग भेट गरेको पाइएको छ ।

माओवादीबाट निर्वाचित मेयर अधिकारीविरुद्ध एक १८ वर्षीया युवतीले बिहीबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा बलात्कारको उजुरी दिएपछि उनी फरार भएका हुन् । त्यसअघि आरोपी अधिकारीले राष्ट्रियसभा अध्यक्ष नारायण दाहालसँग भेटेर आफूविरुद्ध जाहेरी नलिन प्रहरीलाई दबाब दिन लगाएको पाइएको हो ।

स्रोतका अनुसार सिन्धुलीबाट निर्वाचित सांसद राजन दाहालसहित बुधबार (किटानी जाहेरीको अघिल्लो दिन) बालुवाटारस्थित राष्ट्रियसभा अध्यक्ष दाहालको निवासमा पुगेका मेयर अधिकारीले आफूलाई जोगाउन प्रहरीलाई उजुरी नलिन दबाब दिन लगाएका थिए ।
उजुरीअनुसार, दुधौली नगरपालिका वडा नम्बर ८ निवासी भुजेल थरकी यी पीडित महिला नगरप्रमुखको घर नजिकैको वेलकम होटलमा काम गर्थिन् । सोही क्रममा नगरप्रमुख दनुवारले बलात्कार गरेका थिए ।
गुपचुप राखिएको यो घटना धेरै पुरानो भएपनि माओवादी नेताहरुको दबाबका कारण अधिकारी विरुद्ध प्रहरीले किटानी जाहेरी लिन मानेको थिएन । पीडित युवतीले आफूलाई अधिकारीले जबर्जस्ती करणी गरेर गर्भवती बनाएको र अहिले सन्तान समेत जन्मिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि उनको कर्तुत सार्वजनिक भएको हो ।

राष्ट्रियसभा अध्यक्ष दाहालसहित अन्य माओवादी नेताहरुले यो घटना गुपचुप राखेर मिलाउन धेरै प्रयास गरे पनि अन्ततः ती पीडित युवतीले न्यायको माग गर्दै अधिकारीविरुद्ध प्रहरीमा उजुरी दर्ता गराएकी हुन् । त्यसयता अधिकारी फरार छन् ।

प्रहरीका अनुसार पीडितको उजुरी दर्ता भएपछि मेडिकल परीक्षण, डीएनए जाँच लगायतका अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ भने मेयरलाई आवश्यक अनुसन्धानका लागि पक्राउ गर्ने तयारी भइरहेको छ ।

मेयर अधिकारीले आफूविरुद्ध उजुरी नलिन राष्ट्रियसभा अध्यक्ष दाहाल लगायत अन्य जिल्ला र केन्द्रीय तहका माओवादी नेता मार्फत प्रहरीलाई दबाब दिन लगाएका थिए । तर, चौतर्फी विरोध र प्रमाणको रुपमा सन्तान रहेको दाबी पीडित युवतीले गरेपछि सिन्धुली प्रहरी उजुरी लिन बाध्य भएको हो ।

यसबारेमा जानकारी लिन राष्ट्रियसभा अध्यक्ष दाहालका स्वकिय सचिव विष्णु सापकोटा जुगलसँग सम्पर्क गर्दा उनले राष्ट्रियसभा अध्यक्षलाई भेट्न अधिकारी नआएको जिकिर गरे । त्यस दिन मात्रै नभएर दुई चार महिना अघि पनि अधिकारी भेट गर्न नआएको बताउँदै उनले राष्ट्रियसभा अध्यक्ष सोही दिन श्रीमतीको उपचारका लागि देशबाहिर भएको समेत दाबी गरे ।

तर, मेयर अधिकारीका सहयोगी युवराज दनुवारले भने बुधबारकै दिन सांसद राजन दाहालसहित मेयर अधिकारीले राष्ट्रियसभा अध्यक्ष दाहालसँग भेट गरेको तस्बिर फेसबुकमा सार्वजनिक गरेका थिए । उक्त तस्बिर मेयरकै सहयोगी दनुवारले फेसबुकमा सार्वजनिक गरेपछि सांसद राजन दाहाल सहित सामूहिक भेट गरेको आधिकारिकता पुष्टि भएको हो । यसबारेमा प्रतिक्रिया लिन राष्ट्रियसभा अध्यक्ष दाहालसँग सम्पर्क गर्ने प्रयास भने सफल हुन सकेन ।

२०७९ को स्थानीय तहको निर्वाचनमा माओवादीबाट दुधौलीको मेयरमा निर्वाचित भएका अधिकारीलाई उम्मेदवार बनाउन पनि राष्ट्रिय सभा अध्यक्ष दाहालकै प्रमुख भूमिका रहेको सिन्धुलीका एक माओवादी नेता बताउँछन् ।

ती नेताका अनुसार जिल्ला सचिव विनोद विक, प्रदेश सभा सदस्य मात्रिका भट्टराई वा महिला नेतृ इन्दिरा काफ्लेमध्ये एक जनालाई मेयरको उम्मेदवार बनाउने तयारीमा रहेका बेला राष्ट्रियसभा अध्यक्ष दाहालको विशेष हस्तक्षेपपछि अधिकारी उम्मेदवार भएर निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्