काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले एकताका लागि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग वार्ता सुरू भएको बताएका छन् । राष्ट्रिय समाचार समितिसँगको अन्तर्वार्तामा उनले यस्तो दावी गरेका छन् ।

नेता गौतमले आफू नेपालका कम्युनिष्ट पार्टीहरूलाई एकीकृत गर्ने अभियानमा लागेको भएपनिसम्भव नभएको बताएका छन् । उनले भनेका छन्, ‘अहिले पनि पार्टी एकताको निम्ति विभिन्न पार्टीसँग छलफल भइरहेको छ। पार्टी मात्रै खोलेर राम्रो हुँदैन, कम्युनिष्ट पार्टीबीचमा एकता गर्दै जानुपर्छ भन्ने उद्देश्यले नेकपा (एकीकृत समाजवादी)सँग एकताको निम्ति छलफल भइरहेको छ । अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतका नेतासँग वार्ता सुरू भएको छ ।’
उनले नेकपा एमालेसँग एकताको प्रयास गरेको तर सम्भव नभएको बताएका हुन् । ‘केही समय पहिला नेकपा (एमाले) सँग पार्टी एकताको निम्ति पहल गरिएकामा उहाँहरूले एकता हुँदैन, प्रवेश गर्न आए स्वागत छ भन्नुभयो। त्यहीअनुसार तयार भइयो उहाँहरूले नै ढोका बन्द गर्नुभयो’ नेता गौतमले भने, ‘मेरा निम्ति नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) पनि एमाले नै हो। किनभने मैले निर्माण गरेका कार्यकर्ता र सँगै काम गरेका नेताहरू दुवै दलमा हुनुहुन्छ ।’











