काठमाडौं । तेस्रो नेपाल सुपर लिग (एनएसएल) मा आज साविक विजेता ललितपुर सिटी एफसीको सामना पहिलो पटक फाइनलमा पुगेको पोखरा थन्डर्सले गर्दै छ । ललितपुर जारी सिजन अपराजित टोली हो । उसले लिग चरणको ६ खेल र क्वालिफायरमा एक रुपताको प्रदर्शन गरेको छ । उत्कृष्ट लयमा रहेको ललितपुर दोस्रो पटक च्याम्पियन बन्ने होडमा रहेको छ ।

पोखरा अर्को सशक्त टोलीको रुपमा अगाडि आएको छ । केही विवाद र पहिलो दुई हारपछि यसरी गरेको कमब्याक तारिफयोग्य छ । एनएलमा पछिल्ला १० खेलमा अपराजित रहेको ललितपुर र प्रत्येक खेलमा निखारिएको प्रदर्शन गरेको पोखराबीचको फाइनल खेल स्तरीय हुने अनुमान गरिएको छ ।
फाइनलमा आमने सामने हुँदै गर्दा दुई टोलीका कप्तानको यात्रा फरक छ । ललितपुरका कप्तान अनन्त तामाङ दोस्रो पटक टिमलाई उपाधि दिलाउने भाग्यमानी कप्तान हुन सक्छन् ।
अर्कोतर्फ पोखराका कप्तान नवयुग श्रेष्ठसँग भने अनसोल्ड देखिको फाइनल सम्मको कथा छ । अनसोल्ड पछि पनि टोलीले देखाएको विश्वासको ऋण तिर्ने र आफूलाई प्रमाणित गर्ने उत्कृष्ट मौका हो । उनले प्रशिक्षक सुमन श्रेष्ठको योजनामा खेल्ने र उपाधि जित्ने नै प्रमुख लक्ष्य रहेको बताए ।
पछिल्लो ६ खेलमा अपराजित रहेको पोखराले ६ खेलमा १ गोल मात्र खाएको छ । ५ खेलमा क्लिन सिट । त्यसैले ललितपुरलाई यो तथ्याङ्कलाई चिर्दै गोल गर्ने चुनौती रहनेछ ।
ललितपुरसँग लिग चरणमा ३-२ ले हारेपछि पोखरा अपराजित रहेको छ । लिग चरणमा काठमाडौंलाई गोल अन्तरमा हराएको पोखराले दोस्रो क्वालिफायरमा इन्ज्युरी समयमा गरेको गोलमा फाइनलमा पुगेको हो।
आज हाई प्रोफाइल विदेशी प्रशिक्षक ललितपुरका साइमन्ड ग्रेसन र नेपाली प्रशिक्षक श्रेष्ठको रणनीति पनि प्रमुख रहनेछ ।
एनएसएलले नयाँ च्याम्पियन पाउनेछ वा लगातार दोस्रो पटक च्याम्पियन बन्ने इतिहास बन्ने छ । यसको निर्णय आज साँझ ६ बजे दशरथ रङ्गशालामा सुरु हुने फाइनल खेलले गर्नेछ । यसपटकको च्याम्पियन ८० लाख र दोस्रो टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछ। यो गत वर्षको तुलनामा दुवैमा १० लाख रुपैयाँको वृद्धि हो ।











