Logo
Logo

ललितपुरमा एक करोडको खाजा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ६ साउन । स्थानीय तहहरु बेथितीका अखडा बनेका छन् । स्थानीय तहका कतिसम्म बेथिती मौलाएको छ भन्ने कुरा यो वर्षको महालेखापरीक्षको प्रतिवेदनले देखाएको छ ।

उपत्यकाकै ललितपुर महानगरपालिकाले खाजामा मात्र जनताको एक करोड भन्दा धेरै पैसा सिध्याएको छ । प्रतिवेदनमा उल्लेख भएअनुसार उसले एक करोड एक लाख ८१ हजार रुपैयाँ पदाधिकारीको खाजा खर्चमा सिध्याएको छ । अर्थात् एक दिनमा महानगरपालिकाका कर्मचारीले २८ हजार रुपैयाँको खाजा खाने गरेको देखिन्छ । एक सय ३९ पदाधिकारीले यसरी खाजा खर्च दुरुपयोग गरेका हुन् । बिदा बाहेक नै उनीहरुले एक दिनमा प्रतिव्यक्ति दुई सय रुपैयाँ भन्दा महंगो खाजा खाएको देखाएर जनताबाट असुलिएको करमा लुट हुने गरेको छ । कांग्रेसबाट निर्वाचित मेयर चिरिबाबु महर्जनकै नेतृत्वमा यस्तो अनियमितता भइरहेको हो ।

अन्य महानगरपालिकामा पनि बेथिती कम छैन । पोखरा महानगरपालिकाले एक वर्षमा कर्मचारीलाई नियम विपरीत करिब दुई करोडको सुविधा दिएको छ । पटक पटक निर्णय गरी एक करोड ९८ लाख २२ हजार रुपैयाँ बराबरको प्रोत्साहन भत्ता कर्मचारीलाई वितरण गरेको छ ।

वीरगञ्ज महानगरपालिकाले एक करोड ६ लाख भत्ता कर्मचारीलाई बाँडेको छ । उसले तिहार भत्ता समेत दिएकाले महालेखाले जनाएको छ ।

त्यस्तै स्थानीय तहका प्रमुखले स्वकिय सचिव तथा सल्लाहकार अवैध रुपमा नियुक्त गरी पाँच करोड ६१ लाख रुपैयाँ अनियमितता गरेको औंल्याइएको छ । सबै स्थानीय तहले ४० करोड ४९ लाख खाजा तथा विविध खर्चमा सिध्याएको महालेखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्