Logo
Logo

सरकारले सन्तुलित नीति तथा कार्यक्रम र बजेट ल्याउँछ : प्रधानमन्त्री ओली


819
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि सन्तुलित र व्यावहारिक नीति तथा कार्यक्रम तथा बजेटको तयारी गरिरहेको बताएका छन्।

आज आयोजित नेकपा (एमाले) संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा स्थायित्व, विकास, सुशासन र समृद्धिका लागि दुई ठुला दलको सहकार्यबाट बनेको सरकार गम्भीर रूपमा नीति तथा बजेट निर्माणमा जुटेको बताए। उनले भने, ‘हल्लाको पछि नलाग्नुस्, सबैको ध्यान नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित हुनुपर्छ।’

संसद्को बजेट अधिवेशन प्रारम्भ भएको सन्दर्भमा बोल्दै प्रधानमन्त्री ओलीले अधिवेशनको मुख्य कार्यभार नीति तथा कार्यक्रम प्रस्तुत र पारित गर्नु, बजेट ल्याउनु र जनताका समस्याका समाधानका उपायमा ध्यान केन्द्रित गर्नु रहेको बताए।

प्रतिगमनकारी शक्तिहरूले आन्दोलनको नाममा हिंसात्मक तथा संविधानविरोधी गतिविधि गरिरहेको आरोप लगाउँदै उनले यस्ता कार्यका विरुद्ध सरकार कडा रूपमा प्रस्तुत हुने चेतावनी समेत दिए। आवश्यक परेमा कानुनअनुसार कडा कदम चालिने उनले प्रस्ट पारे।

अमेरिकी सरकारसँगको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौता अमेरिकी पक्षबाट बन्द भएको प्रसङ्ग उठाउँदै उनले अब नेपालले आफ्नो विकास आफैं गर्ने बाटोमा लाग्नुपर्ने बताए । सांसद्हरुलाई प्रधानमन्त्री ओलीले मर्यादित, सुसंस्कृत, तथ्य र प्रमाणमा आधारित भएर जनताका समस्यालाई साहसिक ढङ्गले उठाउन निर्देशन समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्