Logo
Logo

सरकारलाई असफल बनाउने छुट कसैलाई छैन : एनपी साउद


630
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले ठुला दुई दलको सहकार्यमा बनेको सरकारलाई असफल बनाउने छुट कसैलाई नभएको स्पष्ट पारेका छन् ।

कांग्रेसको ओखलढुंगा–काठमाडौं उपत्यका सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि साउदले सरकार स्थायित्व र समृद्धिको मार्गमा अघि बढ्नुपर्नेमा जोड दिए ।

‘हामी दुई प्रमुख राजनीतिक दलहरूको सरकार भएको हुनाले असफल बनाएर पठाउने छुट हामीसँग छैन,’ साउदले भने ।

शिक्षक र चिकित्सकहरूको जारी आन्दोलनप्रति सरकार संवेदनशील हुनुपर्ने उल्लेख गर्दै उनले देशभरि फैलिएका आन्दोलनले शान्ति र स्थिरतामा जोखिम निम्त्याउन सक्ने चेतावनीसमेत दिए। उनले पार्टीका नेता–कार्यकर्तालाई सजग र जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गरे ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका साउदले दुई ठुला दलबिचको सहकार्यबाट स्थिरताको अपेक्षा गरिएको भए पनि अहिले पनि अस्थिरता कायमै रहेको टिप्पणी गरे । ‘दुई ठुला दलको सरकार बनेपछि स्थायित्व आउला भन्ने आशा गरिएको थियो, तर अस्थिरताको चक्र अझै रोकिएको छैन,’ उनले भने ।

साउदले पार्टीभित्र प्रत्येक नेताले आफूले पाएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘आफ्नो जिम्मेवारी राम्रोसँग निर्वाह गर्न सकेमा आगामी महाधिवेशनमा नयाँ जिम्मेवारीका लागि कुनै कठिनाइ हुने छैन ।’

प्रतिक्रिया दिनुहोस्