कास्की । गोरखा भूकम्प गएको १० वर्ष पुगेको अवसरमा पोखरामा भूकम्प सिकाई प्रदर्शनी गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले शुक्रबार पोखराको पृथ्वीनारायण क्याम्पसमा एकदिने भूकम्प सिकाई प्रदर्शनी गरेको हो ।
२०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दू भएर विनासकारी भूकम्प भएको थियो । सोही दिनको स्मरण गर्दै भूकम्पसम्बन्धी सिकाइ प्रदर्शनी गरिएको नास्टले जनाएको छ ।प्रदर्शनीमा पोखरा महानगरपालिका अन्तर्गतका शैक्षिक संस्थाका विद्यार्थीहरु सहभागी भएका थिए ।

भूकम्प जानुअघि, जाँदै गर्दा र गइसकेपछि के गर्नुपर्छ ? भूकम्पको तयारी गर्ने उपाय र विभिन्न उचाइका भवनहरूमा भूकम्पले गर्ने असर सम्बन्धि विद्यार्थीलाई प्रशिक्षित गराइएको नाष्टका भूकम्पविद् डा. शिव सुवेदीले जानकारी दिए ।
चर्चित गीतकारसमेत रहेका भुकम्पविद् डा. सुवेदीले वैज्ञानिक अध्ययन तथा अनुसन्धानहरुले ८ भन्दा ठुलो म्याग्नेच्युडको भूकम्प ल्याउन सक्ने शक्ति पश्चिम नेपालको जमिनमुनि संचित भइसकेको छ भनेर देखाइसकेको बताए । सो अवस्थामा भविष्यमा जाने भूकम्पको तयारीका लागि हामी सबैले मिलेर काम गर्न आवश्यक रहेको उनले उल्लेख गरे ।
प्रदर्शनीमा भूकम्प, भूकम्पको कारण, प्लेट टेस्टोनिक्स, गोरखा भूकम्प, भूकम्पको विज्ञान, मोडल र भूकम्पको म्याग्नेच्युड र भूकम्पको तीव्रता, र भूकम्पको भविष्यवाणी गर्न किन सकिदैन ? भन्ने जस्ता विषयमा विद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।
नेपालसहित स्विजरल्याण्ड, सिंगापुर, बेलायतमा भूकम्पको विधामा काम गरिरहेका विज्ञहरुले विद्यार्थीलाई प्रशिक्षण गराएका थिए । प्रदर्शनीमा भूकम्पसम्बन्धि हाजिरीजवाफ र चित्रकला प्रतियोगितासमेत गरिएको थियो ।











