
काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत आज बेलायत भ्रमणमा जाँदै छन् । १० दिने भ्रमणका लागि प्रधानन्यायाधीश राउत आज बेलायततर्फ प्रस्थान गर्न लागेका हुन ।
उनी नेतृत्वको भ्रमण टोलीमा सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल, उच्च अदालतका न्यायाधीशद्वय रितेन्द्र थापा र हेमन्त रावल हुनेछन्। यस्तै सर्वोच्चका रजिस्ट्रार विमल पौडेल पनि रहनेछन् ।
यसअघि वैशाख ११ गते नै प्रधानन्यायाधीश राउत विदेश भ्रमणमा निस्कन लागेका थिए । पहिला टर्की जाने र त्यसपछि त्यतैबाट बेलायतको भ्रमण गर्ने उनको तालिका थियो । तर टर्कीको भ्रमण अन्तिम समयमा रद्द भएको थियो ।
टर्कीमा भूकम्प गएका कारण उनको भ्रमण रद्द भएको बताइएको थियो । यद्यपी सर्वोच्चले यसबारे आधिकारिक जानकारी गरेको छैन । यसपटक भने प्रधानन्यायाधीश राउत टर्कीको स्तानबुलमा ट्रान्जिट मात्र गर्नेछन् । त्यसपछि त्यहाँको विमानस्थलबाट सिधै लन्डन प्रस्थान गर्नेछन् । राउत नेतृत्वको टोली वैशाख २३ गते स्वदेश फर्किने कार्यक्रम छ ।











