काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सदैव आतंकवादको विपक्षमा रहेको बताएकी छन् । नेपाल जुनसुकै प्रकृतिको आतंकवादको कडा शब्दमा निन्दा गर्ने उनको भनाइ छ ।

भारत प्रशासित जम्मु काश्मिरको पहलगाममा भएको भएको आतंककारी हमलामा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपालस्थित भारतीय दूतावासले शनिबार काठमाडौंमा आयोजनक गरेको कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री राणाले नेपाल सधैँ शान्तिको पक्षमा रहेको स्पष्ट पारेकी हुन् ।
उनले भनिन्, ’नेपालले आतंकवादको सबै स्वरुप र अभिव्यक्तिहरूको कडा निन्दा गर्दछ । नेपाल जहाँ, जहिले र जुनसुकै उद्देश्यका लागि गरिने आतंकवादी क्रियाकलापको सदैव विपक्षमा उभिन्छ ।’
आतंकवादको विषयमा व्यवहार गर्दा कहिल्यै दोहोरो मापदण्ड अपनाउन नहुने बताउँदै राणाले नेपालले आफ्नो भूमिमा कुनैपनि आतंकवादी समूहले कुनैपनि कारण कुनै देश र जनताविरुद्ध प्रयोग गर्न नसक्ने बताइन् । काश्मिरको पहलगाममा भएको आतंकवादी हमलाको पनि नेपालले कडा शब्दमा निन्दा र भत्र्सना गरेको मन्त्री राणाको भनाइ थियो ।
उनले नेपाल र भारतबीच गहिरो सम्बन्ध रहेको स्मरण गर्दै यो सम्बन्ध केवल कुटनीतिको विषयमात्र नभएर सदियौँदेखिको साझा इतिहास, संस्कृति र सहकार्य पनि रहेको बताइन् । उनले भनिन्, ‘हाम्रा खुला सिमानाहरू एकापसका विश्वासका प्रतीक हुन् र हाम्रा पारिवारिक सम्बन्धहरूले आपसमा नाता पनि गाँस्दछन् । हामी सधैँ खुसी या सङ्कटको समयमा एकसाथ उभिएका छौँ ।’











