Logo
Logo

नेटवर्किङ धन्दामा प्रहरीकै संरक्षण


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं, ६ साउन । लकडाउनका कारण आर्थिक क्षेत्र अस्तव्यस्त छ । यही बेलामा केही समूह भने जनतालाई ठग्ने योजना बनाइरहेका छन् । अझ यसमा मन्त्रीदेखि प्रहरीसम्मकै मिलेमतो देखिएको छ ।

प्रत्यक्ष बिक्रीका नाममा पहिले हजारौं सर्वसाधारणलाई ठगी गरेको नेटवर्किङ व्यवसाय सञ्चालनमा उद्योगमन्त्री लेखराज भट्ट सक्रिय छन् । त्यसमा कतिपय बहालावाल प्रहरीको अप्रत्यक्ष संलग्नता देखिएको छ ।

हालै अवकाश पाएका दुई उच्च प्रहरी अधिकृत त प्रत्यक्षरुपमा संलग्न भइसकेका छन् । पूर्वएआइजी हेमन्त पाल आइबोस इन्टरनेशनलका सञ्चालक बनेका छन् । पूर्वडिआइजी छविलाल जोशी नेचर हब्र्स इन्टरनेशनलका उपाध्यक्ष छन् । दुवै कम्पनी विगतमा नेटवर्किङ व्यवसायमार्फत ठगी गरेर कारबाही भोगेका व्यक्तिहरुले चलाएका हुन् ।

गिरेन्द्रबहादुर राईले नै कम्पनीहरुमा प्रहरीलाई सहभागी गराएको स्रोत बताउँछ । यस्तै धन्दाबाट करोडौं कमाएका राईले विगतमा पनि प्रहरी सेटिङ मिलाउने बिचौलियाको काम समेत गर्दथे । पूर्व प्रहरीलाई कम्पनीमै राख्ने र बहालवाला प्रहरीलाई पनि उनले नै सेटिङ मिलाएको स्रोत बताउँछ । जसकारण अहिले दर्ता गरेर सञ्चालन हुन थालेको नेटवर्किङ व्यवसायलाई केही उच्च पदस्थ प्रहरीले नै संरक्षण गरेका छन् । विगतमा हर्बाे कम्पनीमार्फत ठगीमा संलग्नहरुलाई राईले आफ्नो कम्पनीमा ल्याएका छन् । उनले गण्डकी प्रदेशका पूर्व प्रमुख बाबुराम कुँवरलाई समेत आफ्नो कम्पनीमा आबद्ध गराएका छन् । नेचर हब्र्स अन्तर्राष्ट्रिय कम्पनी हो, जसले मलेसियामा सयौं नेपालीलाई ठगी गरिसकेको छ ।

वस्तु तथा सेवा प्रत्यक्ष बिक्री ऐन ०७४ र नियमावली ०७६ को आडमा नेकपाको सरकारले नेटवर्किङ व्यवसायलाई बैधता दिइएको हो । विगतमा यस्ता कम्पनीबाट लाखौं नेपाली ठगिएकोमा अहिलेसम्म उनीहरुले क्षतिपूर्ति पाएका छैनन् । अहिले राज्यकै अनुमति र संरक्षण यस्तो व्यवसाय मौलाएको छ । उद्योग मन्त्रालय अन्र्तगतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले सात कम्पनीलाई इजाजत दिइसकेको छ । इजाजत पाउनुअघि नै ति कम्पनीहरुले काम सुरु गर्नुले यसमा विभाग तथा उद्योग मन्त्रालयकै मिलेमतो प्रष्ट हुन्छ ।

नेटवर्किङमा यसरी उच्च पदबाट अवकाश पाएका प्रहरी नै आबद्ध हुनुले प्रहरी संगठनकै साख समेत गिरेको छ । पाल र जोशी मात्र होइन दर्जनौं पूर्व प्रहरी अधिकृतहरु विभिन्न व्यापारीहरुसँग आबद्ध भएका छन् । धेरै जसो अवैध गतिविधिमा संलग्न व्यापारीसँग आबद्ध हुने गरेका छन् । प्रहरीभित्रै सेटिङ मिलाउन पनि पूर्व प्रहरीलाई कम्पनीमा राख्ने प्रचलन बढेको छ ।

प्रतिक्रिया दिनुहोस्