
काठमाडौं । संखुवासभाको खाँदबारीमा एक जनाको हत्या भएको छ । खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा ७२ वर्षीय मीनबहादुर कुमालको गएराति साढे १२ बजे घरमा सुतिरहेका बेला अज्ञात समूहले घाँटी थिचेर हत्या गरेको हो ।
दुइजना नचिनेको मान्छेको समूहले घाँटी थिचेको उनको श्रीमतीले प्रहरीलाई बताएकी छिन् । घरभित्र अपरिचित व्यक्ति छिरेपछि छिमेकीलाई बोलाएर हेर्दा उनको मृत्यु भइसकेको थियो ।
मृत्यु शंकास्पद देखिएकाले सबै नाकामा शंकास्पद व्यक्तिको तलासी र सोधपुछ भइरहेको प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।
सामान्य परिवारका मीनबहादुर घरमा श्रीमतीसँग बस्दै आएका थिए । घटना सम्बन्धमा तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान थालिने प्रहरीले जनाएको छ ।











