
काठमाडौं । नेकपा (एमाले)ले संविधान विपरीत समवेदना वक्तव्य निकालेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाह र संवाद सचिव डा. फणिराज पाठकलाई तत्काल कारबाही गर्न माग गरेको छ ।
आज प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ठाकुर गैरेले जम्मू–कश्मीरमा भएको आक्रमणबारे निर्मल निवासबाट जारी वक्तव्यमा ‘श्री ५ को सरकार’ लेखिएको भन्दै तत्काल कारबाहीको माग गरेका हुन् ।
शनिबार पाठकबाट जारी वक्तव्यको शीर्षकमा ‘श्री ५ महाराजाधिराज’ लेखिएको छ । उक्त् वक्तव्यमार्फत पूर्वराजा शाह र पाठकले कानुनी राज्यको उपहास गरेको गैरेको भनाई छ ।
‘नेपालको संविधान र आजको व्यवस्थामा श्री ५ महाराजाधिराज ज्ञानेन्द्रवीर विक्रम शाहदेव भन्ने कहाँ छ ? यो लेख्न पाइन्छ कि पाइँदैन ? यो संसद्, संविधानको सर्वोच्चता, कानुनी राज्यको उपहास गरेर यहाँ बस्न पाइन्छ कि पाइँदैन ?’, उनले प्रश्न गर्दै भने, ‘त्यसकारण संवाद सचिवका रूपमा नाम रहेका फणिराज पाठक र यो संवेदना लेख्न बक्सने ज्ञानेन्द्र शाहलाई नेपालको संविधान र कानुनबमोजिम तत्काल कारबाही गरियोस् ।’











