Logo
Logo

सरकारलाई प्रश्न- पोखरा विमानस्थलमा १० अर्ब बढी भ्रष्टाचार भएको छ, कारबाही गर्ने हिम्मत छ ?


1k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा अर्बौँ भ्रष्टाचार भएको तथ्य बाहिर आएको बताएका छन् । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले २०७१ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त विमानस्थल निर्माण सम्झौता गरेको स्मरण गर्दै सो कुार बताएका हुन् ।

निर्माण सम्पन्न भएर पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ मा उद्घाटन गरिएको थियो । तर, अझैसम्म परीक्षण उडानबाहेक सञ्चालनमा आउन नसकेको भन्दै उनले सरकारको ध्यानाकर्षण गरे । पोखरा विमानस्थलमा १० अर्ब बढी भ्रष्टाचार भएको तथ्य बाहिर आएको भन्दै उनले त्यसमा संलग्नलाई कारबाही गर्ने हिम्मत छ कि छैन भनेर उनले सरकारलाई प्रश्न गरेका थिए ।

सांसद पराजुलीले भने, ‘२२ अर्ब ऋण सम्झौता लागतमा निर्माण भएको विमानस्थलमा १० अर्बभन्दा बढी भ्रष्टाचार भएको विषय संसद्को लेखा समितिको उपसमितिले उजागर गरेको तथ्य बाहिर आएको छ । भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्न सरकारको हिम्मपत छ ?’ अनियमिततामा संलग्नमाथि जो कोहीमाथि कारबाही हुनुपर्ने उनको माग छ ।

सांसद पराजुलीले भने, ‘यो प्रकरण उजागर गर्नुमा उसका आफ्ना इन्ट्रेस्ट होलान् यद्यपि नेपालमा हुने भ्रष्टाचारको काण्ड अन्तर्राष्ट्रिय जगतमै दुर्गन्धित भएको कुरा त उजागर गरेको सत्य हो नि ? प्रधानमन्त्रीज्यू ।’

प्रधानमन्त्रीले भ्रष्टाचार गर्न नदिने बाचा गर्दै आएको स्मरण गर्दै भने, ‘अब नाकैमुनि भएको भ्रष्टाचारको गन्धले संसार दुर्गन्धित हुँदापनि भ्रष्टाचार आफू पनि गर्दिन र गर्न पनि दिन्न भन्दै कार्यकर्ताको आँखामा छारो हालिरहने कि ?’ यो विषयमा न्यायिक छानबिन समिति गठन गर्न उनको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्