काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवल शमशेर राणा राजावादी आन्दोलनमा फेरि सक्रिय भएका छन् । गत चैत १५ गते तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनका क्रममा पक्राउ परेका राणा स्वास्थ्य उपचारपछि राजावादी आन्दोलननमा सक्रिय भएका हुन् ।

यसअघि उनी अनुसन्धान कायम रहेकै बेला उपाचारका लागि भन्दै हिरासत मुक्त भएका थिए । राणाले समाजिक सञ्जाल फेसबुकमार्फत भोलि बैशाख १५ गते गर्न लागिएको राप्रपा नेपालको प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन् ।
महामन्त्री राणाले फेसबुकमा लेखेका छन्, ‘भोलि वैशाख १५ गते राप्रपा नेपालको आयोजनामा आस्थाका बन्दीहरुको तत्काल रिहाई र विचारका आधारमा बन्देज लगाउने ऐन बनाउन पाईदैन भन्दै काठमाडौँको प्रदर्शनीमार्गमा हुने जनप्रदर्शनमा सहभागीताको निमित्त सम्पूर्ण हिन्दूवादी, राजावादी, राष्ट्रवादी र प्रजातन्त्र प्रेमीहरुमा हार्दिक अनुरोध गर्दछु ।’
राप्रपाको जनआन्दोलन परिचालन समिति संयोजकसमेत रहेका उनले देशले अहिले परिवर्तन खोजेको बताएका छन् । उनले अहिलेको अवस्थामा सबैलाई एकजुट हुनसमेत आग्रह गरेका छन् ।
‘देशले अहिले परिवर्तन खोजेको छ । जनता स्थिरता र समृद्धिको पक्षमा छन् । देश र जनतालाई केन्द्रमा राखेर एकपटक सम्पूर्ण जनता जुरुक्क उठ्नुपर्ने बेला आएको छ’ उनले भनेका छन्, ‘समान विचार बोक्नेहरुबीच अहिले एकताको आवश्यता छ। सबै मिलौँ, जुटौँ। देश बचाउने र बनाउने महान अभियानमा हातेमालो गर्दै कम्मर कसेर लगौँ ।’











