Logo
Logo

‘मह जोडी’ले पार गरे सहकार्यको ४५ वर्ष


252
Shares

काठमाडौं । ‘मह जोडी’ अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । नेपाली रङ्गमञ्चमा मह जोडीका नामले स्थापित उहाँहरू ‘एकै रथका दुई पाङ्ग्रा’का रूपमा सहकार्य गरिरहेका छन् ।

राष्ट्रिय तथा अन्तरराष्ट्रिय रङ्गमञ्चहरूमा प्रहसन, टिभी शृङ्खलाको निर्माण गर्दै आमदर्शकको मन जित्न सफल वरिष्ठ कलाकर्मी श्रेष्ठ र आचार्य नेपाली समाजमा उदाहरणीय एवं अनुकरणीय व्यक्तित्वका रूपमा परिचित छन् । मह जोडीका रूपमा उनीहरूको सहकार्यले आज वैशाख १४ गते ४५ वर्ष पूरा भएको छ । करिब आधा दशकसम्म निरन्तर रूपमा जोडी बनेर दर्शकको मन जित्न सक्नु र आफ्ना लागि एउटा सम्मानित पहिचान स्थापित गर्न सक्नु नै उनीहरू दुईको इमानदारिताको उदाहरण हो ।

यो ४५ वर्षको सहकार्यमा मह जोडी बनेर काम गर्दा दुवै कलाकारले नामसँगै दाम पनि कमाए  । तर, जति लाभ हुन्छ, त्यति नै लोभ बढ्ने सम्भावना पनि हुन्छ । यसको प्रभाव पनि यो जोडीले हाबी हुन् दिएनन् । फलतः सहकार्यको झन्डै आधा दशक कलासाधनामा समर्पित भई दर्शकसहित आमनेपालीको मन जित्न मह जोडी सफल भएको देखिन्छ ।

यसै सन्दर्भमा अभिनेता आचार्यले आफूलाई भाग्यमानी पुस्ताका रूपमा बुझेका छन्  । किनकि कलाकारिताको दौरानमा उनीहरूले प्रविधिगत र राजनीतिक धेरै परिवर्तनलाई नजिकबाट बुझ्न पाए । ‘हामीले रङ्गमञ्चमा प्रहना गर्यौं, क्यासेट बनायौँ, टेलिभिजनका लागि शृङ्खला बनायौँ, चलचित्रमा पनि काम गरायौँ, त्यस कारण पनि म र मदन दाई भाग्यमानी पुस्ता बन्न पुग्यौँ । हामीले सबै माध्यममार्फत् आफ्नो कामलाई देखाउने मौका पायौँ । अहिले पनि हामीले पुराना कामलाई अत्याधुनिक प्रविधिमा रुपान्तरण गरेर ‘डिजिटल’ रूपमा उपलब्ध गराएका छौँ’, अभिनेता आचार्यले भने ।

उनले मह जोडीले यो यात्रा पार गर्नुमा आपसी सम्बन्ध, पारिवारिक हार्दिकता र दर्शकको माया रहेको बताए । ‘दर्शकले हामीलाई एकसाथ हेर्ने इच्छा नराख्नु भएको भएँ हामीले यत्रो यात्रा पार गर्न सम्भव थिएन । अनि हामीलाई परिवारले सधैँ सहयोग गरेर अगाडि बढ्न मद्दत ग¥यो ।  हाम्रो सम्बन्धमा उनीहरू हाबी भएनन् । यसका साथै हामीले गरिरहेको कामले दुवै नाम दियो, एउटा स्थान बनायो । एक अर्कासँग कहले आरिस (इगो) राखेनौँ, सधैँ दर्शकको भावनाअनुरूप प्रस्तुत भइरह्यौँ’, अभिनेता आचार्यले भने ।
 
यसैगरी अभिनेता श्रेष्ठले मिलेर काम गरेमा त्यसले सफलता दिने बताउनुभयो । उमेरका हिसाबले ७५ वर्ष पुग्नुभएका अभिनेता श्रेष्ठले चलचित्रसहित विज्ञापनमा अझै सक्रिय भई काम गरिरहेका छन् ।  उनले कामका सिलसिलामा कहिले त्यसको लाभ–हानि हाबी हुन् नदिएको बताए ।

उनले भने, ‘हामी कहिले पैसाको पछाडि लागेनौँ, काममै केन्द्रित भयौँ । त्यसले हामीलाई नाम र दाम दुवै दियो । फेरि दुवैको नाम र काअम एउटै छ, त्यस कारण पनि हामीले सोच्नुपर्ने केही थिएन । हामीमा इमानदारिता छ, सद्भाव छ, सदैव एक अर्काको राम्रो भएको हेर्न र सुन्न चाहन्छौँ, त्यसैले यति लामो समयसम्म मह जोडीका रूपमा यात्रा तय गर्न सकेका हौँ ।’

उनले स्वास्थ्यले साथ दिएसम्म आफूहरू एकसाथ काम गरिरहने बताए । पछिल्लो समय दुवै जनाले एकसाथ चलचित्र ‘महापुरुष’ मा काम गरेका थिए । त्यसपछि अभिनेता आचार्यले ‘महाजात्रा’, ‘भूठान’ र ‘हरिबहादुरको जुत्ता’ मा अभिनय गरिसकेका छन् । यस्तै अभिनेता श्रेष्ठले पनि ‘पहाड’ र ‘परान’ नामक चलचित्रमा काम गरेका छन् । छुट्टिएर चलचित्रको छायाङ्कन गर्दा होस् वा भोजमा, जहाँ जाँदा पनि एकलाई देखेपछि अर्कालाई खोज्नु स्वाभाविक छ । ‘मलाई हरिजी खोइ भनेर सोध्नु भयो भने यही त छन् नी, म भित्रै छन् भनेर भन्ने गरेको छु । कार्यक्रममा मात्र होइन चलचित्रको छायाङ्कनमा पनि सोधिरहनु हुन्छ’, अभिनेता श्रेष्ठले भने ।
 
उनीहरू दुईको कम्पनी ‘मह सञ्चार’मा २०६० सालदेखि जोडिएका निर्देशक प्रदीप भट्टराई पारिवारिक सदस्य झैँ देखिन्छन् । सामान्य सहयोगीका रूपमा शृङ्खलामा काम गर्न जोडिनुभएका निर्देशक भट्टराईले धेरै शृङ्खलामा मुख्यसहायक निर्देशक र केही शृङ्खलामा निर्देशक नै भएर काम गरे । चलचित्रकै सन्दर्भमा ‘शत्रु गते’ र ‘महापुरुष’ मा मह जोडीलाई निर्देशक भट्टराईले निर्देशन गरेका छन् ।

‘उहाँ दुई मेरा लागि जीवित भगवान् झैँ हुनहुन्छ । उहाँहरूको कर्म जस्तो छ, व्यवहार पनि त्यस्तै छ । मलाई त कर्म सिकाउने गुरु नै उहाँहरू हुनहुन्छ, मैले जे भने पनि उहाँहरूका लागि शब्द कम नै हुन्छ, मलाई एउटा छोराकै रूपमा माया गर्नुहुन्छ’, निर्देशक भट्टराईले भने ।

मह जोडी एकसाथ नदेखिँदा सधैँ प्रश्न गर्ने गरिएको निर्देशक भट्टराईले देखेका र सुनेका छन् । टेली शृङ्खलामा काम गर्दा होस् वा चलचित्रमा दुई एकसाथ नदेखिँदा प्रश्न तेर्सिनु स्वाभाविक हो । र, उनले मह जोडीलाई ‘दुईमै एक र एकमै दुई’ देखेका छन् । जहाँ ‘म’ त्यहाँ ‘ह’ पनि हुने बुझाइ निर्देशक भट्टराईको छ । त्यस कारण मह जोडीलाई शीर्ष भूमिकामा लिएर गज्जबको चलचित्र बनाउने रहर उनको छ ।

‘उहाँहरूको क्षमतासँग म नजिकदेखि परिचित छु, त्यसैले एउटा गज्जबको चलचित्र बनाउने रहर छ । कथा पनि सोचिरहेको छु, किनकि उहाँहरूप्रति दर्शकको अपेक्षा बढेको छ, म आफैँ पनि अभिनय गराउनकै लागि गराउने पक्षमा छैन । त्यस कारण उहाँहरूलाई पर्दामा देखाउन पाउँदा म पनि दर्शक झैँ खुसी हुन्छु’, निर्देशक भट्टराईले भने।

हास्य कलाकारका रूपमा चिनिएका मह जोडी अहिले आफूलाई फरक भूमिकामा प्रस्तुत गरिरहेका छन् । अभिनेता आचार्यले अभिनय गर्नुभएको ‘भूठान’ मा एक दृश्यमा मात्र हाँसेको देख्न पाइन्छ । ‘बलिदान’ पछि पूर्णतया गम्भीर भूमिकामा अभिनेता आचार्य प्रस्तुत भए । यसअगाडि अभिनेतामा हुने नवरसमध्ये हास्यरस हाबी हुँदा उहाँहरू हास्य कलाकारका रूपमा बढी प्रस्तुत भएका निर्देशक भट्टराईले बताए ।

‘उहाँ दुई नै पूर्ण कलाकार हुनुहुन्छ । हामीले शृङ्खलामै केही फरक र भिन्न काम गरेका छौँ । मैले उहाँहरूमा अभिनेतामा हुने सबै गुणलाई देखेको थिएँ, त्यही भएर नै ‘महापुरुष’ चलचित्रमा केही भिन्न रूपमा प्रस्तुत गरेँ । अहिले दर्शकले पनि विस्तारै बुझ्दै हुनहुन्छ, उहाँहरू सबै किसिमका भूमिका गर्नसक्ने लोकप्रिय एवं सर्वस्वीकार्य कलाकार हुनहुन्छ’, निर्देशक भट्टराईले भने । 

गत वर्षमात्र मह जोडीले विदेश र नेपालमा ‘मह जात्रा’ गरेका थिएँ । आउँदो समयमा पनि सँगै काम गरी सहकार्यलाई निरन्तरता दिने पक्षमा उनीहरू रहेका छन् ।  छोटो समयमा नाता–सम्बन्ध टुट्ने अहिलेको जमानामा वरिष्ठ कलाकार श्रेष्ठ र आचार्यको दोस्ती र सहकार्यले ४५ वसन्त पार गर्नु एकअर्काप्रतिको इमानदारिता र सम्मान नै हो । 

प्रतिक्रिया दिनुहोस्