
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले नेपाल राष्ट्र बैङ्कका कायममुकायम गभर्नर नीलम ढुंगानालाई कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा स्वीकृत गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भट्टलाई आगामी गभर्नरमा नियुक्त गर्ने सहमति भएपछि राजीनामा प्रक्रिया अघि बढाइएको हो । सो सहमतिअनुसार भट्टले कार्यकारी निर्देशकको पदबाट राजीनामा दिइसकेका थिए । तर, कायममुकायम गभर्नर ढुंगानाले अहिलेसम्म स्वीकृत गरेका थिएनन् ।
शनिवार राति प्रधानमन्त्री ओली र सभापति देउवाबिच पुनः छलफल भएपछि अर्थमन्त्री पौडेलले ढुंगानालाई मन्त्रालयमा बोलाएर राजीनामा स्वीकृत गर्न निर्देशन दिएका हुन् ।
आज दिउँसो अर्थमन्त्री विष्णु पौडेल विष्णु पौडेलले कामु गभर्नर ढुंगानालाई मन्त्रालयमा बोलाएर भट्टको राजीनामा स्वीकृत गर्न निर्देशन दिएका अर्थमन्त्रीको सचिवालयले जनाएको छ । यस निर्णयसँगै भट्टलाई गभर्नर नियुक्तिको औपचारिक प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ।











