Logo
Logo

नारायणी नदीको बहाव ४४ वर्ष यताकै उच्च


- दृष्टि न्युज/संवाददाता

0
Shares

चितवन, ६ साउन । नारायणी नदीको बहाव मंगलबार बिहान ४४ वर्षयताको सबैभन्दा उच्च भएको छ । बिहान ९ बजे नदीको बहाव ९ दशमलव ९१ मिटर पुगेको थियो ।
देवघाटमा रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका प्रमुख जलविज्ञ रामविकेश रायका अनुसार त्यतिबेला नदीमा पानीको बहाव १४ हजार ७७९ घरमिटर प्रतिसेकेण्ड रहेको थियो । यसअघि सन् १९७४ अगष्ट ५ मा १० दशमलव १ मिटर पानीको तह र १५ हजार ३०० घनमिटर प्रतिसेकेण्ड बहाव मापन गरिएको थियो ।
यसबीचको अवधिमा सन् २०१८ को वर्षात्मा १४ हजार घनमिटर प्रतिसेकेण्ड बहाव र तह ९ दशमलव ६ मिटर रहेको छ । त्यतिबेला पानीको बहाव २७ वर्षयताको सबैभन्दा बढी थियो । सन् १९६३ देखि हालसम्मको तथ्यांकलाई हेर्दा नारायणीको शिरतर्फका क्षेत्रमा सन् १९७४ यताको सबैभन्दा बढी पानी परेको देखिन्छ । सन् २०१३ मा १३ हजार घनमिटर प्रतिसेकेण्ड नारायणीको बहाव मापन भएको थियो ।
जलस्रोतविज्ञ रायका अनुसार ४४ वर्षको अवधिमा नारायणी नदीमा पानीको बहाव मंगलबार बिहान सबैभन्दा उच्च देखिएके हो । जल विज्ञान विभागका वरिष्ठ जलविज्ञ विक्रम श्रेष्ठ कोशीले पनि नारायणी नदीले खतराको तह नाघेको बताए । नारायणी नदीको खतराको तह आठ मिटर र बहाव नौ हजार ९९२ घनमिटर प्रतिसेकेण्ड रहेको छ । यसको चेतावनी तह ७ दशमलव ३ मिटर र आठ हजार ४६० घनमिटर प्रतिसेकेण्ड रहेको छ ।
जलविज्ञ श्रेष्ठले मंगलबार पाँचदेखि सात घण्टा पानीको बहाव यही अवस्थामा रहने बताए । बुधबारबाट क्रमशः घट्दै जाने उनको भनाइ छ । पहिलेका वर्षहरुमा ढिलो गरी मनसुन सक्रिय हुने गरेको भए पनि यस वर्ष छिटो मनसुन शुरु भएको थियो । गएको जाडो मौसम र प्रि–मनसुनको समयमा औषतभन्दा बढी पानी परेका कारण नारायणी नदीका सहायक नदी, खोलाहरुमा पानीको बहाव बढ्न गएको छ । कतिपय ठाउँमा पहिरो गई नदी, खोला थुनिएर फुट्ने गर्दा पनि तिनमा एक्कासी पानीको मात्रा बढ्न गएको उनको भनाइ छ ।
नारायणी नदीमा मस्याङ्दी, त्रिशूली, सेतीजस्ता ठूला नदीहरु मिसिएका छन् । मुग्लिनमा त्रिशूलीमा मस्याङ्दी, गाईघाटमा त्रिशूलीमा सेती मिसिएको छ भने देवघाटमा त्रिशूलीमा कालीगण्डकी मिसिएर नारायणी नदी बनेको हो । यी ठूला नदीहरुमा प्रसस्त साना नदी र खोलाहरु मिसिएका छन् । नारायणीको शिर क्षेत्रमा कास्की, स्याङ्जा, गोरखा, लमजुङ, रसुवा, नुवाकोट, धादिङलगायतका जिल्ला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्