काठमाडौं, ७ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता माधव नेपालले पुष्पलाल श्रेष्ठ नेपाली जनताको मुक्तिका लागि आजीवन समर्पित भएर सामन्तवाद तथा निरंकुशताको विरुद्ध लडेको स्मरण गराएका छन् । बुधबार पुष्पलालको ४२औँ स्मृति दिवसका अवसरमा विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।
पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष समेत रहेका नेता नेपालले दुई ठूला कम्युनिस्ट पार्टी मिलेर एउटै नेपाल कम्युनिस्ट पार्टी निर्माण गरेर संस्थापक महासचिव पुष्पलालको सपनालाई साकारमात्र नभएर नेपाली जनताको मुक्ति आन्दोलनलाई गुणात्मक रुपमा एक कदम अघि बढाउन योगदान समेत गरेको उल्लेख गरेका छन् ।
यस्तो छ विज्ञप्ति
७ साउन, २०७७
प्रेस वक्तव्य
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव, नेपाली जनताको मुक्तिका लागि आजीवन समर्पित, सामन्तवाद तथा निरंकुशताका विरुद्धको संयुक्त जनआन्दोलनका प्रणेता कमरेड पुष्पलालको ४२ औँ स्मृति दिवसका अवसरमा उहाँलाई सम्मानपूर्वक स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।
कमरेड पुष्पलालको नेतृत्वमा पाँच जनाले २००६ सालमा स्थापना गरेको नेपाल कम्युनिस्ट पार्टी आज नेपाली जनताको आशा, भरोषा र विश्वासको केन्द्रका रुपमा स्थापित भएको छ । कम्युनिस्ट पार्टीको अगुवाइ र पहलकदमीमा यस बीचमा युगान्तकारी परिवर्तनहरु भएका छन् । निरंकुश तथा सामन्ती राजतन्त्रको अन्त्य, केन्द्रीकृत राज्यसत्ताको ठाउँमा संघीय प्रणाली समावेशी लोकतन्त्र जस्ता विषयहरुले मुलुक सबैको साझा हो र कसैको विशेषाधिकार छैन भन्ने कुरा व्यवहारमा स्थापित गर्न हामी सफल भएका छौँ । कमरेड पुष्पलालले स्थापना गरेका पदचिन्हहरुमा दृढतापूर्वक हिँड्न सकेकै कारण हामीले नेपालमा ऐतिहासिक परिवर्तनहरु गर्न सकेका छौँ ।
कम्युनिस्ट आन्दोलनलाई सबै खालका भड्कावहरुबाट जोगाउँदै कमरेड पुष्पलालले स्थापित गरेका मानकहरु हाम्रा लागि सधैँ मार्गदर्शनका रुपमा छन् । कम्युनिस्ट पार्टी र नेता–कार्यकर्ताहरुले जतिसुकै कठिन परिस्थितिमा पनि विचलित हुनहुँदैन र जनतालाई गोलबन्द गर्नबाट पछि हट्नु हुन्न भन्ने उहाँको दृढतालाई सिर्जनशील रुपमा अलवम्बन गर्दै कम्युनिस्ट पार्टीहरुले विभिन्न कालखण्डमा काम गर्न सकेकै कारण आज हामीले यति विशाल पार्टी निर्माण गर्न सकेका छौँ । दुई ठूला कम्युनिस्ट पार्टी मिलेर एउटै नेपाल कम्युनिस्ट पार्टी निर्माण गरेर हामीले हाम्रा संस्थापक महासचिव कमरेड पुष्पलालको सपनालाई साकार मात्र पारेका छैनौँ, नेपाली जनताको मुक्ति आन्दोलनलाई गुणात्मक रुपमा एक कदम अघि बढाउन ठोस योगदान समेत गरेका छौँ ।
संस्थापक महासचिव कमरेड पुष्पलाललाई स्मरण गरिरहेको यस घडीमा हामीले नेपाल कम्युनिस्ट पार्टीलाई अझै बलियो, एकताबद्ध, संस्थागत, विधि–पद्दतिमा आधारित, जनतासँग अझै घनिष्ट, परिवर्तनको मार्गमा दृढ र वैचारिक रुपमा स्पष्ट बनाउन आवश्यक छ । कम्युनिस्ट पार्टी कुनै व्यक्तिको ‘अलौकिक’वा ‘चमत्कारिक’ नेतृत्वमा विश्वास गर्ने संस्था नभई सामूहिक नेतृत्व प्रणालीमा विश्वास गर्ने एक क्रान्तिकारी संस्था भएकाले यसलाई त्यही अनुसार कमिटी प्रणालीका आधारमा चलाउनु पर्छ भन्ने मान्यतालाई हामीले दृढतापूर्वक व्यवहारमा लागू गर्नुपर्छ । अर्काको अस्तित्व स्वीकार नगर्ने र ‘म नै सर्वेसर्वा हुँ र म नभए केही पनि चल्दैन’ भन्ने भावनाले कम्युनिस्ट आन्दोलनलाई हिजो विभाजनबाट थिलोथिलो बनाएको कटु यथार्थ भोग्दै हामी यहाँसम्म आइपुगेका छौँ । आजपनि कहीँ कतै त्यस्ता गलत, व्यक्तिवादी र गैरकम्युनिस्ट प्रवृत्तिहरु देखा पर्दछन् भने त्यसका विरुद्ध दृढतपूर्वक उभिनु सबै इमानदार नेता–कार्यकर्ताको कतव्र्य हुन्छ ।
४२औँ स्मृति दिवसको यस सन्दर्भमा संस्थापक महासचिव कमरेड पुष्पलालका आदर्शहरुलाई दृढतापूर्वक पछ्याइरहने प्रतिबद्धता व्यक्त गर्दै उहाँको क्रान्तिकारी, सरल, बौद्धिक, संघर्षशील र निष्ठापूर्ण व्यक्तित्वबाट सबै अभिप्रेरित भइरहन सकौँ भन्ने कामना गर्दछु ।
माधवकुमार नेपाल
अध्यक्ष, पुष्पलाल स्मृति प्रतिष्ठान