काठमाडौं, १३ साउन ।
सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले जस्तो सुकै चुनौतीको सामना गर्नका लागि तयार रहन मातहत कमाण्डरहरुलाई निर्देशन दिएका छन् । हालै सरुवा भएका गणपति एवं तालिम शिक्षालयका समादेशकहरुलाई निर्देशन दिने क्रममा उनले व्यवसायिक चरित्र र उच्च अनुशासनमा काम गर्न निर्देशन दिएका हुन् ।
सन्तोषजनक काम नगर्ने कमाण्डरलाई तत्काल हटाउने महानिरीक्षक खनालको चेतावनी छ ।
कोभिडका कारण उपत्यकामा उपलब्ध कमाण्डरहरुलाई प्रधान कार्यालयमा तथा अन्यलाई प्रदेश स्थित बाहिनीहरुमै सोमबार भिडियो स्ट्रिमिङ्ग मार्फत निर्देशन दिदै महानिरीक्षक खनालले राज्यले सशस्त्र प्रहरी माथी गरेको भरोषा र जनताले गरेको आशालाई तराई देखी हिमालसम्म निरन्तर खटिएर उत्कृष्ट ढंगले पुरा गर्नुपर्ने वताए । बाहिनीपतिहरु समेतलाई उपस्थित सो निर्देशनमा खनालले व्यावसायिक चरित्र र उच्च अनुशासन¸ प्रदर्शन गर्न जोड दिएका छन्।
प्रत्येक तहका कमाण्डरलाई दिइएको जिम्मेवारीको निरन्तर अनुगमन तथा मुल्याङ्कन गरिने र काम सन्तोषजनक नभएमा विगतमा जस्तै कमाण्डबाट अलग गराउने कार्यलाई थप प्रभावकारी वनाइने उनको चेतावनी छ । सामुहिक भावना¸ सहयोग¸ सहकार्य र समन्वयमा कार्य गर्न उनको निर्देशन छ । निर्देशनको क्रममा महानिरीक्षक खनालले नम्ब र ३४ गण कैलालिका गणपति सशस्त्र प्रहरी उपरीक्षक कमल प्रसाद तिउसिनाले उत्कृष्ट कार्य गरेको भन्दै उच्च प्रसंसा गरेका थिए ।
अन्य सुरक्षा निकाय तथा स्थानिय प्रशासनसँगको सहकार्यमा राज्य र संगठनले दिएको जिम्मेवारी पुरा गर्न निर्देशन दिदै उनले आफू मातहतका कर्मचारी प्रति अभिभावकत्व लिदैं उनीहरुको कार्य प्रति हौसला र उत्प्रेरणा जगाउँदै जिम्मेवारी कुशलता पूर्वक पुरा गर्न र आफूसँग भएका श्रोत साधनको अधिकतम् प्रयोगबाट जस्तो सुकै परिस्थितिमा समेत त्रुटी रहित ढंगले उत्कृष्ट कार्य गर्ने गरि आफू र मातहत कर्मचारीलाई समेत तयार राख्न निर्देशन दिएका छन् । संगठन र संगठनले लिएको नीति प्रति आँच आउने खालका कार्य सह्य नहुने वताउनु हुँदै उहाँले चेन अफ कमाण्डलाई अक्षरस पालना गर्न र संगठनले लिएको भ्रष्टाचार¸ मानव अधिकार उल्लंघन र लैंगिक हिंसा बिरुद्धको शुन्य सहनशिलतालाई पूर्ण पालना गर्दै अनुशासित¸ जिम्मेवार र कर्तव्यनिष्ठ भएर फिल्डमा देखिने र महसुस हुने गरि कार्य गर्नुपर्ने उनको भनाई छ । संगठनका गोप्य सूचनाहरु चुहावट गर्ने र संगठनलाई बद्नाम गराउने कार्य प्रति आगामी दिनमा समेत थप निर्मम भएर प्रस्तुत हुने उनको चेतावनी छ ।
सो अवसरमा मानवश्रोत विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी. ले संगठनका गोप्य सूचना र डकुमेन्टहरुको दुरुपयोग गर्नेहरुको शुक्ष्म ढंगले निगरानी गरिरहेको र त्यस्ता कार्यमा संलग्नहरुलाई कडा भन्दा कडा कारबाही गरिने वताए । संगठनबाट भएका नीति निर्देशनको अक्षरस पालना गर्न र आन्तरिक रुपमा कार्यालयलाई थप व्यवस्थित र परिस्कृत बनाउनुपर्ने उनको भनाई छ । यसैगरि राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्याकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण वावु थापाले आफ्नो जिम्मेवारी र दायित्वलाई स्तरिय ढंगले पछिसम्म स्मरणिय हुने गरि कार्य गर्नुपर्ने वताए ।
कार्यक्रममा कार्य तथा सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक राम शरण पौडेलले प्राप्त जिम्मेवारीलाई पुरा गर्न सकारात्मक ढंगले आउन सक्ने विपद् लगायतका चुनौतीहरुको लागि तयार रहनु पर्ने वताए ।