मोडल सिर्जना किराँती ‘नाछिरिङ’ हालै एक तीज गीतमा देखिइन् । तीजलाई लक्षित ‘फूलबुट्टे सारी’ बोल गीतको भिडियोमा देखिएकी सिर्जना मोडलिङमै करिअर बनाउन चाहन्छिन् । सानैदेखि नाच्न भनेपछि हुरुक्कै हुने गरेकी सिर्जनाका लागि काठमाडौंको सुरुमा दिनहरु निकै कष्टकर थियो, किनकि उनका लागि काठमाडौं विरानो थियो । २०७० सालतिर घुम्नलाई राजधानी काठमाडौं आएकी सिर्जनाले धागो काढ्नेदेखि प्रिन्टिङ प्रेसमा समेत काम गरिन् । उनीमा नृत्य कला थियो, तर, कला देखाउने ‘प्लेटफर्म’ झ्वाट्टै मिलेन । हाल मोडलिङमै रहमाइरहेकी सिर्जनाले भनिन्, ‘सुरुमा काम कतै पाइएन, साह्रै दुःख पाइयो ।’ विशेषगरी सिर्जना कल्चरल गीत तथा फिल्ममा अभिनय गर्न चाहन्छिन् । दर्जनौँ भिडियोमा मोडलिङ गरिसकेकी सिर्जना किराँतीसँगको जम्काभेट :
तीज गीतमा दम्दार नृत्य गर्नुभएको रहेछ, नाच्न थाल्नुभएको कति भयो ?
सानैदेखि नाच्थेँ । तीज गीतमा मोडलिङ गरेको चाहिँ पहिलोपटक हो । म बढीजसो कल्चरल गीत र स्टेज कार्यक्रममा नाच्छु ।
मोडलिङ क्षेत्रमा लाग्नुभएको कति भयो नि ?
धेरै भएको छैन । साढे दुई वर्ष जति भयो । त्यो बीचमा एक वर्ष ‘ब्याक’ भएँ । दुर्घटनामा परेर खुट्टा फ्याक्चर भएपछि नाच्न नमिल्ने भयो, त्यही भएर नाच्न छाडेकी थिएँ ।
मोडलिङ क्षेत्रमा प्रवेश कसरी गर्नुभयो ?
सानैदेखि नाच्थेँ । स्कुलमा हुने हरेक स्टेज कार्यक्रममा ‘पर्फमेन्स’ गथेँ । सुरुमा म सिकेर यो क्षेत्रमा आएकी होइन । रहर र इच्छाले नाच्दानाच्दै आफूलाई निखारेकी हुँ ।
कलाकार बन्छु भनेरै काठमाडौं छिर्नु भएको हो ?
होइन, यहाँ घुम्नलाई आएकी हुँ । त्यतिखेर मैले नाच्न छाडेकी थिएँ । काठमाडौंमा आएपछि एक जना दिदीसँग एउटा सानो कोठा लिएर बस्न थाल्यौँ । र, काम खोज्यौँ । तर, यहाँ काम पाउनै गाह्रो । सुरुमा मैले धागो काढ्ने काम गरेँ । मैले पत्रपत्रिका छाप्ने प्रिन्टिङ प्रेसमा पनि काम गरेँ । प्रेसमा काम गर्दा झण्डै ठूलो दुर्घटनामा परेकी थिएँ । कपाल छाडेर काम गर्दै थिएँ, अचानक मेसिनले कपाल बेरियो, एक मिनेटमात्र ढिलो भएको भए हात नै मेसिनले लान्थ्यो । धन्न त्यतिखेरै मान्छे आएर बचाए ।
कति वर्ष काम गर्नुभयो ?
दुई÷तीन वर्ष जति गरेँ । त्यतिखेरै एक जना चिनेको दाईले कल्चरल प्रोगामका लागि अफर गर्नुभयो । त्यसपछि बेलुकी–बेलुकी कल्चरल डान्स गर्न थालेँ । दिउँसोको काम नपाइने भएकाले साँझ क्याफेमा कल्चरल डान्स गर्न थालेकी हुँ । त्यही बेला राष्ट्रिय नाचघरको स्टेज कार्यक्रमहरुमा जान थालेँ । राष्ट्रिय नाचघरमै डान्सको कोर्ष पनि गर्न थाले । त्यतिखेरै दुर्घटनामा परेकी थिएँ । तर, अन्तिममा फेरि एक साता कोर्ष जोइन गरेर पूरा गरेँ ।
सुरुमा म्युजिक भिडियोको अफर कसरी आयो ?
२०७४ सालतिरको कुरा हो । एक जना चिनेको दाईले अफर गर्नुभयो । तर, मलाई गर्न सक्दिनँ जस्तो लाग्यो किनकि, हिरोइन वा मोडल बन्नलाई राम्री हुनुपर्छ जस्तो लाग्थ्यो । म आफूलाई राम्री लाग्दैन । तर, त्यो दाईले तिमी गर्न सक्छौँ, गर भनेपछि गरेकी हुँ ।
आफूले रोजेको क्षेत्र कस्तो लागिरहेको छ ?
यो क्षेत्रमा अगाडि बढ्नका लागि कि आफ्नो मान्छे हुनुप¥र्यो कि त पैसा हुनुपर्ने रहेछ । आफ्नो मान्छे, पैसा र ठूलो मान्छेको हात नहुँदा भएको कला पनि मर्दोरहेछ । यो मेरो व्यक्तिगत अनुभव हो ।
फेसबुक, यु–ट्युबजस्ता सामाजिक सञ्जालहरु कतिको प्रयोग गर्नुहुन्छ ?
म प्रायः अनलाइनमै हुन्छु । अनलाइनमा भएपनि फेसबुक त्यतिधेरै चलाउँदिन । म यु–ट्युब बढी हेर्छु । यु–ट्युब हेरेरै धेरै कुराहरु सिकिरहेकी हुन्छु ।
फेसबुकमा म्यासेन्सहरु कतिको आउँछ ?
कुरै नगरौँ । तिमी राम्री छौँ, तिमीलाई मन पराउँछु । मेरो गर्लफ्रेण्ड बनदेखि बुढी बनसम्मका म्यासेसहरु आउँछ । तर, खाशै रिप्लाई गर्दिनँ ।
घरजम कहिलेसम्ममा बसाउने सोच छ ?
जुन दिन लगन जुर्छ, त्यही दिन । अहिलेसम्म सिंगल छु । लभ गरेर झगडा गर्दै बस्नुभन्दा सिंगल बसेर नयाँ काम सिक्नु मलाई राम्रो लाग्छ । ‘ब्वायफ्रेण्ड’ भएपछि जहिले किचकिच सहनुपर्ने हुन्छ । साथीहरुको ‘लभ अफेयर्स’ देखेरै अघाइसकेकी छु ।
प्रस्तुति : एमपी सुब्बा