- काशीनाथ मिश्रित
शिक्षक मानव हुन्, यन्त्र होइनन् । तर शिक्षकलाई यन्त्रमानव बनाउन खोजिँदैछ । शिक्षण कार्य सर्वथा मनोवैज्ञानिक पेशा हो, यान्त्रिक होइन । यो पनि सबैलाई थाहा छ कि, मन मानवमा हुन्छ, यन्त्रमा हुँदैन । यन्त्रमानव अर्थात् रोबोटले पढाउन सक्ने भए शिक्षकहरूको आवश्यकता नै पर्दथ्यो ? त्यसैले मानसिकरूपमा शिक्षकले पढाउन तत्पर नहुँदासम्म विद्यालयमा पठनपाठन हुन सक्दैन भन्ने बुझ्नुपर्छ । एकोहोरो रोटी पाक्दैन भने झैँ शिक्षण कार्य केबल शिक्षकमा मात्र निर्भर रहने पनि होइन । शिक्षार्थीको पाटोलाई चटक्कै भुलेर शिक्षकको टाउकोमा सबैथोक थोपर्ने हो भने के लाग्छ र ? विद्यार्थीहरू पनि मानसिक रूपमा पढ्न तयार भए भने मात्र शिक्षण कार्यको सार्थकता देखिन्छ । किनभने, विद्यार्थीहरू पनि मानव हुन् जसको मन हुन्छ ।
मिलमा धान राखेर चामल निकाल्नु वा चाउचाउ फेक्ट्रीबाट चाउचाउ उत्पादन गर्नु र असल विद्यार्थी निर्माण गर्नु वा गुणस्तरीय शिक्षा दिनु उस्तै कुरा होइनन् । यन्त्रका रूपमा शिक्षकले गर्ने कार्य बिस्कुट कम्पनीले कुनै बिस्कुट उत्पादन गरे जस्तो गरी विद्यार्थी उत्पादन गर्न सम्भव छैन । यदि संभव हुँदो हो त रोबोटलाई शिक्षण सिकाइ सिपयुक्त बनाएर कक्षा कोठामा ठड्याए भैहाल्यो नि । मासिक रूपमा तलब भर्न पनि नपर्ने खर्च पनि कम हुने क्या गजव ! शिक्षकलाई मानव भएर काम गर्न दिने कि यन्त्र बनाउने भन्ने कुरा राज्यको शिक्षा नीतिमा भर पर्छ । अझ शिक्षकलाई यन्त्रमानव बनाउने मानसिकताबाट गुज्रिरहेको परिप्रेक्ष्यमा शिक्षाको गुणस्तर खोज्नु त कोदोको बीउ रोपेर धानको फल खोज्नु जस्तो हो । क्षमताको आधारमा भन्दा दलको झोला बोकेको आधारमा शिक्षक नियुक्त गरिनु र रोबोट बनाइनुमा के नै फरक छ र ?
कक्षामा उपस्थित भएर विविध तरिकाले ध्यानाकर्षण गराउँदै पढाउँदा त सबै विद्यार्थीहरूले विषयवस्तु सजिकै बुझ्न सक्दैनन् । अझ अहिले लागु भएको अप्रत्यक्ष प्रणाली चाहे त्यो अनलाइन होस्, चाहे रेडियो वा टेलिभिजनबाट दिइएको होमवर्क होस् यसले कति प्रतिशत विद्यार्थीलाई उपलब्धी हासिल गर्न मद्दत गर्ला ? तथ्याङ्कको खोजी नगरौँ । तथ्यांक लिने निकायहरूले फरक फरक आँकडा दिन सक्छन् । मानौँ देशभरिका सबै विद्यार्थीहरूका घरमा इन्टरनेट, कम्प्युटर, ल्यापटप, स्मार्ट फोन, टेलिभिजन वा रेडियो उपलब्ध छ । दैनिकरूपमा विद्यालय गए जस्तै विद्यार्थीहरू पनि त्यस्तो वैकल्पिक शिक्षण प्रणालीमा सरिक छन् । दोहोरो कुराकानी नहुने भएपछि प्रश्नोत्तर, छलफल त हुँदैन नै । रोबोटले पढाउनुमा र यसमा के फरक छ ? हातमा हात समाएर लेखाउँदा र पटकपटक दोहो¥याएर भन्दा त कतिपय विद्यार्थीहरूलाई लेखाउन र बुझाउन सकिँदैन भने अरु कुरा गर्न नपर्ला । नेपालजस्तो देशमा इन्टरनेटको पहुँच, विद्युत आपूर्ति जस्ता पक्षहरू त परै जाउन् ।
आजभोलि पढाउने भन्दा पनि सिकाउने शब्द प्रचलनमा आएको छ । पढाउने शब्द गुरुकुलकालीन हो, जुन लुप्तप्रायः भैसक्यो । सिकाउने भन्ने कुरा केबल शिक्षकले मात्र गरेका हुँदैनन् । विद्यालय जानुपूर्व ससाना बालबालिकाहरूलाई क–कसले सिकाएका हुन्छन् ? भनिरहनु नपर्ला । आमाबाबु, साथीभाइ, छरछिमेक लगायत वरिपरिको वस्तुस्थिति तथा वातावरणले पनि धेरै कुरा सिकाइसकेका हुन्छन् । मुख्यतः सिक्नका लागि चाहिने उत्सुकता हो, जसलाई जगाइदिने काम मात्र शिक्षकको हो । वर्तमान स्थितिमा सूचना प्रविधिको विकासले ल्याएको अभूतपूर्व परिवर्तनले गर्दा कतिपय शिक्षकहरू भन्दा विद्यार्थीहरू सक्षम भएको कुरा स्वीकार्नै पर्छ । हामी घोकन्ते विद्या धावन्ते खेती भन्ने मानसिकताबाट माथि उठ्न नसकिरहेको अवस्थामा छौँ । तर समयले उछिनिसकेको छ । शिक्षकको काम यन्त्रवत् चल्नु मात्र होइन मार्गदर्शन गराउनु हो ।
सिकाउन वा मार्गदर्शन गर्न मानव चाहिन्छ । शिक्षकलाई मानव भएर सिकाउन दिइनुपर्छ । यन्त्र जस्तो बनाएर शिक्षकले सिकाउन सक्दैनन् । त्यसो त यन्त्र पनि स्वचालित होइनन् र चलाउनका लागि मान्छे नै चाहिन्छ । तात्पर्य के भने मिलमा धान राखेर चामल निकाल्नु वा चाउचाउ फेक्ट्रीबाट चाउचाउ उत्पादन गर्नु र असल विद्यार्थी निर्माण गर्नु वा गुणस्तरीय शिक्षा दिनु उस्तै कुरा होइनन् । यन्त्रका रूपमा शिक्षकले गर्ने कार्य बिस्कुट कम्पनीले कुनै बिस्कुट उत्पादन गरे जस्तो गरी विद्यार्थी उत्पादन गर्न सम्भव छैन । यदि संभव हुँदो हो त रोबोटलाई शिक्षण सिकाइ सिपयुक्त बनाएर कक्षा कोठामा ठड्याए भैहाल्यो नि । मासिक रूपमा तलब भर्न पनि नपर्ने खर्च पनि कम हुने क्या गजव !
शिक्षकलाई मानव भएर काम गर्न दिने कि यन्त्र बनाउने भन्ने कुरा राज्यको शिक्षा नीतिमा भर पर्छ । अझ शिक्षकलाई यन्त्रमानव बनाउने मानसिकताबाट गुज्रिरहेको परिप्रेक्ष्यमा शिक्षाको गुणस्तर खोज्नु त कोदोको बीउ रोपेर धानको फल खोज्नु जस्तो हो । क्षमताको आधारमा भन्दा दलको झोला बोकेको आधारमा शिक्षक नियुक्त गरिनु र रोबोट बनाइनुमा के नै फरक छ र ?
भनिन्छ, पढाउनुभन्दा अघि हरेक शिक्षकले विद्यार्थीलाई पढ्नुपर्छ । यसको अर्थ हो विद्यार्थीहरूको व्यक्तिगत पहिचान गर्नु । प्रत्येक विद्यार्थीको आर्थिक, बौद्धिक, शारीरिक तथा मानसिक अवस्था बराबर हुँदैन । कस्तो परिवेशबाट ऊ आएको छ, भोको छ कि खाएको छ, विद्यालयबाट घर टाढा छ वा छैन, शारीरिक वा मानसिक रूपमा कस्तो अवस्थाको छ जस्ता विद्यार्थीको मनोविज्ञान शिक्षकले विचार गरेर मात्र सिकाउन सक्छन् । शिक्षकलाई स्वविवेक प्रयोग गर्ने अधिकार भएन भने ऊ यन्त्र जस्तो हुन्छ । यन्त्रवत् सिकाइको प्रभाव कत्तिको पर्ला अब अनुमान गर्न सकिन्छ ।
पोषणयुक्त खाना खाएका र कुपोषणले ग्रस्त भएका बालकहरू समान उमेरकै भए पनि समान स्तरमा सिक्न नसक्ने हुन्छन् । सहजै कापी कलम ल्याउन सक्ने र सोको लागि मुस्किल पर्ने बालबच्चाहरूलाई पनि समान हैसियतमा सिकाउन कठिन पर्छ । बालबालिकाहरू आफ्नै घरबाट आउँछन् कि कसैको घरमा बसेका कामदारका छोराछोरीका रूपमा आउँछन् ? त्यस कुराले पनि सिकाइमा प्रभाव पार्छ । विद्यालय आउने जाने दुरी नजिक वा टाढा भएका कारणले अरु सबै कुरा समान भएका विद्यार्थीहरूले पनि गृहकार्य गर्न नसक्ने अवस्था रहन सक्छ । हाम्रो जस्तो आर्थिक स्तर न्युन भएको समाजका बालबालिकाहरूलाई बिस्कुटका उत्पादन गरेजस्तो समान स्तरकै शिक्षा दिनु कति कठिनाइ छ भन्ने कुरा गम्भीरतापूर्वक मनन गर्नुपर्ने कुरा हो । अझ सबैलाई एउटै टोकरीमा राखेर वैकल्पिक शिक्षा दिने कुरा कति सम्भव होला । पाँच वर्गमा विभाजन गरिएका विद्यार्थीहरूको वासस्थान, पहुँच, मानसिकता एवं परिस्थिति अलगअलग छ कि छ्यासमिस छ ? विद्यालयलाई क्वारेन्टाइन बनाएर मानसिक आतङ्क फैलिरहेको बेलामा पढाइप्रति आकर्षण गर्नु कति सजिलो छ ? गाउँगाउँमा गएर डुल्नुपर्छ र मात्र थाहा हुन्छ । यन्त्रलाई पो रोगले छुन नसक्ला र मानवलाई त रोगको डर होला नि ! यो कुराको विचार नगरेर यन्त्रमानवसरह व्यवहार गर्नु न्यायसंगत हो होइन, सबैले मनन गरौँ ।