- वीरेन्द्र रावल
धनगढी, १३ साउन । नेपाली कांग्रेसको महाधिबेशनको चर्चा चलिरहँदा कैलाली जिल्लामा शेरबहादुर देउवा पत्नी डा. आरजु राणामाथि देउवालाई स्थापित गराउन बलिया नेतामाथि कारबाही थालेको आरोप लागेको छ ।
खासगरी डा. आरजु राणा देउवालाई कैलाली जिल्ला क्षेत्र नम्बर ५ मा स्थापित गराउनकै लागि भएपनि नेपाली कांग्रेसले पूर्व राज्यमन्त्री पुष्करनाथ ओझालाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरिएको आरोप पुष्करनाथ पक्षको आरोप छ ।
देउवा पक्षले पुष्करनाथ ओझालगायतका नेताहरुमाथि निर्वाचनताका अन्तरर्घात गरेको भन्ने आरोपका आधारमा कारबाही गरेपछि ओझापक्ष आक्रोशित बनेको छ । कारबाहीको बिषयलाई लिएर ओझा पक्षका नेता कार्यकर्ताको सोमबार धनगढीमा भेला भएको छ । पछिल्लो आन्तरिक घटनाक्रमको समीक्षा र आगामी महाधिवेशनको बारेमा छलफल गर्न सोमबार धनगढीस्थित विद्या होटलमा भेला बसेको थियो ।
नेपाली कांग्रेस कैलालीका नेता आनन्द जोशीले सोमबारको भेलाले पूर्वराज्यमन्त्री पुष्करनाथ ओझालाई पार्टीले गरेको कारबाही फिर्ता गर्न निर्णय गरेको बताए । उनले ओझालाई कारबाही फिर्ता गर्न सभापति देउवालाई ज्ञापनपत्र बुझाउने निर्णय भएको बताए ।
नेपाली कांग्रेस कैलालीका जिल्ला सचिव पुर्ण कुवँरले पूर्वराज्यमन्त्री ओझालाई गरेको कारबाहीले कैलाली कांग्रेसको राजनीतिमा ठुलो असर गर्ने बताए । उनले नेपाली कांग्रेसमा रहेका इमान्दार निष्ठावान नेता कार्यकर्तामाथि न्याय नहुने बताए । उनले यस्तो अवस्थामा नेता कार्यकर्ताहरुको मनोबल गिराउने गरी गरिएको कारबाही कदापि मान्य नहुने पनि बताए ।
ओझा निकटका नेताहरुले पुष्करनाथ ओझालाई आगामी महाधिवेशनबाट रोकेर देउवा पत्नी आरजु राणालाई अगाडि सार्ने नियतले पार्टीले कारबाहीको गर्ने निर्णय गरेको आरोप लगाउँदै आएका छन् ।
कांग्रेसको अनुशासन समितिले ओझालाई पार्टीबाट निष्कासन गरेको हो । पूर्वमन्त्री एवं कैलालीका महासमिति सदस्य ओझालाई ५ वर्षका लागि पार्टीबाट निष्कासन गरिएको छ । उनीमाथि कैलालीमा आरजुलाई चुनाव हराउन भूमिका खेलेको आरोप लाग्दै आएको छ ।
यस्तै, नेपाली कांग्रेसको अनुशासन समितिले गोविन्दराज जोशी र रामबहादुर विष्टलाई पनि पार्टीबाट निष्काशन गरेको छ । डडेलधुरा कांग्रेसका कार्यालय सचिव विष्टलाई तीन वर्षका लागि निष्काशन गरिएको पनि सो पार्टीले जनाएको छ ।
महाधिवेशन नजिकिँदै जाँदा देउवा पक्षधरले रामचन्द्र पौडेल पक्षधर नेता तथा कार्यकर्ताहरुमाथि त्यो पनि महाधिवेशनको पूर्वसन्ध्यामा कारबाही गर्ने कार्य आपत्ति र असान्दर्भिक भएको उनले बताए । यसरी बलिया कार्यकर्तामाथी कांग्रेसले कारबाही गर्दै जान थालेपछि सो पार्टीको कैलाली क्षेत्र नम्बर ५ मा अवस्था अझै कमजोर बन्ने आँकलन गरिन थालेको छ ।