जीवनका सपना सोचेजस्तो हुन्न, न गरेजस्तो नै । गायिका ममता राईलाई जीवन हिजोआज यस्तै लाग्दैछ । जब गीत बुझ्न र सुन्न थालिन्, तब उनीमा गायिका बन्ने सपना पलाएको थियो । तारादेवी, अरुणा लामा, अञ्जु पन्तका गीतहरु सुनेर प्रभावित बनेकी गायिका ममता अहिले आएर गायन छाड्ने मुडमा पुगेकी छन् । ममताका लागि गायन क्षेत्र आशा भोस्लेले गाएको एउटा पुरानो गीतजस्तै भएको छ । एक कुसल गायिका बन्ने सपनाको पल्लाभारी बोकेर खोटाङको बुइपादेखि काठमाडौं छिरेकी ममता भन्छिन्, ‘सोचेजस्तो केही नहुने रहेछ ।’ २०७० सालमा ‘ममता’ नामक गीति एल्बम श्रोतामाझ ल्याएपछि गायिकाका रुपमा चिनिएकी ममताले ५० भन्दा बढी गीत गाइसकेकी छन् । केही उनका गीत चर्चित छन् । तर, अनुभव बेग्लै छ । ‘गीतसंगीत र फिल्मी क्षेत्र उस्तै रहेछ, कि टन्नै पैसा हुनुपर्ने कि त शोषित हुन तयार हुनुपर्ने’ उनी भन्छिन्, ‘तर, मसँग पैसा छैन र शोषित भएर काम गर्न पनि चाहन्न ।’ यिनै गायिका ममता राईसँग एमपी सुब्बाको जम्काभेट :
हिजोआज के गर्दै हुनुुहुन्छ ?
घरमै बसिबसाई छ । लकडाउन भरी घर बसियो । अहिले लकडाउन खुलेपनि अवस्था उस्तै छ । त्यसैले घरकै काम ग¥यो, बस्यो ।
तपाइँको गायन के हुँदैछ ?
गायनमा मनै दिन छाडिसकेँ । अब गाउँदिनँ होला । दुई÷तीन वटा गीत तयार छन् । त्यसका लागि एडभान्स लिइसकेकी छु । तर, अब आफूले खर्च गरेर काम गर्ने सोच छैन ।
गायनप्रति किन वितृष्णा ?
वितृष्णा होइन, दिक्क लागेर हो । गीतसंगीत क्षेत्रमा पूरै राजनीति हुँदोरहेछ । एक त संगीत विधा आफैँमा गाह्रो छ । यो क्षेत्रमा टिक्न र चल्नका लागि लाखौं खर्च सक्नुप¥यो कि त शोषित हुनलाई तयार हुनुप¥यो । जानी–जानी कोही शोषित हुन चाहँदैन । लाखौँ खर्च गरुँ भन्ने त्यो मसँग छैन । गाउँमा जन्मिएकी साधारण मान्छे हुँ । सुरुमा आफैँले लगानी गरियो । त्यतिखेर गीत छान्न पनि जानिएन । जेहोस् गाउने रहरचाहिँ पूरा गरेँ ।
त्यसोभए अब तपाइँ गायन क्षेत्रमा देखिनुहुन्न ?
केही गीत गाएपछि चटक्कै छाड्ने हो । त्यसपछि पहिलेजस्तै एक कुसल श्रोताका रुपमा मात्रै रहनेछु ।
संगीत क्षेत्रमा संघर्ष निकै गर्नुभयो नि ?
पहिलो एल्बम निकालेकै ७ वर्ष भयो । २०७० सालमा पहिलो एल्बम ‘ममता’ ल्याएकी हुँ । त्यसपछि २०७२ सालमा ‘ममता–२’ ल्याएँ । सुरुमा त राम्रो लागेको थियो यो क्षेत्र । रहर पनि थियो । तर, काम गर्दै जाँदा सोचेजस्तो रहेन छ ।
गायिकामाथि संगीतकारले फरक नजरले हेर्छ भन्ने सुनिन्छ । त्यही बेर्होनु भएको हो ?
संगीतकार मात्र नभएर पत्रकार पनि त्यस्तै भेटेकी छु । सिधै नभनेपनि मेन्टली रुपमा आर्थिकदेखि शारीरिक सम्बन्धसम्म राख्न खोज्ने । म त्यसरी बिकेर काम गर्न चाहन्नँ । यो क्षेत्रमा सबै खराबमात्र छन् भन्न खोजेकी होइन । तर, धेरैजसो फाइदा लिन खोजिन्छ ।
सुरुमा काठमाडौं केका लागि आउनुभएको थियो ?
गायिका बन्नकै लागि आएकी हुँ । सानैदेखि गायिका बन्ने सोच थियो, जतिखेर गीत रेर्कडिङ गर्नुपर्छ भन्नेसमेत थाहा थिएन । अरुणा लामा, अञ्जु पन्तहरुको गीत रेडियोमा सुन्दाखेरी म पनि गायिका बन्छु भन्ने सोचेकी थिएँ ।
संगीत क्षेत्रमा लागेर के सिक्नुभयो ?
संगीत के हो भन्ने थाहा पाएँ । संगीत क्षेत्रको भित्रि पाटोहरु बुझ्न पाएँ । सबैभन्दा ठूलो उपलब्धि हाम्रो सन्तान पनि कुनै समय संगीत क्षेत्रमा थियो भन्ने पछिका लागि बाटो बनाएँ । यसैमा चित्त बुझाएकी छु ।
अब आउने पीडिलाई के सुझाव दिनुहुन्छ ?
सिकेर÷बुझेर मात्र यो क्षेत्रमा आएको राम्रो । विशेषगरी टिनएजमा गायिका बन्न आएकाहरु प्रलोभनमा पर्न सक्छन् । प्रतिभा मात्र भएरमात्र पनि नहुने रहेछ, चलाखी हुन आवश्यक छ ।