Logo
Logo

  कोरोना संकटः सरकारी सेवाहरु धमाधम बन्द हुँदै


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २४ साउन
कोरोना संक्रमण बढेपछि सरकारी सेवाहरु नै धमाधम बन्द हुन थालेका छन् । शुक्रबारदेखि उपत्यकाका तीनै जिल्लाले नागरिकता, राहदानी वितरण, संघ संस्था दर्ता जस्ता सेवाहरु १५ दिनका लागि स्थगित गरेको छ । १५ दिनपछि परिस्थिती हेरेर निर्णय गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।


अदालतले पनि धमाधम सेवा कटौती थालेको छ । सर्वाेच्च अदालतले अत्यावश्यक सेवा मात्र दिने निर्णय बिहीबार गरेको छ । उच्च अदालत पाटनले पनि शुक्रबार सेवा कटौतीको निर्णय गरेको छ । अदालतमा अत्याधिक भिड भएपछि अन्य अदालतले पनि सेवा कटौतीको तयारी गरेका छन् ।
उपत्यकाका यातायात व्यवस्था कार्यालयले दुई साता अघि नै लाइसेन्स वितरणको काम रोकिसकेको छ । कार्यालयमा अत्याधिक भिड भएपछि सेवामा रोक लगाइएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा पनि आइतबारदेखि बन्द छ । महाशाखाका पाँच ट्राफिक प्रहरीमा संक्रमण देखिएको छ । ३५ कर्मचारीमा संक्रमण देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कामहहरु पनि प्रभावित भएका छन् । प्रहरी प्रधान कार्यालयमा पनि ८५ जनामा संक्रमण देखिएका छन् । जसकार(ा सर्वसाधरणलाई प्रवेशमा रोक लगाइएको छ ।
उपत्यकामा अन्य सरकारी कार्यालयले पनि सेवा रोक्ने तयारी गरेका छन् । मालपोत कार्यालयको सेवा पनि केही दिन रोक्ने तयारी भइरहेको छ । मालपोतमा पनि अत्याधिक भिड हुने गरेको छ ।
बाँकेमा सरकारी कार्यालयहरु एक सातायता प्रहरी कार्यालयसहितका सरकारी कार्यालय बन्द गरिएका छन् । यातायात व्यवस्था कार्यालय, अदालत, आन्तरिक राजश्व कार्यालय, उपमहानगरपालिका, जिल्ला कारागार, वडा प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयका कर्मचारीमा संक्रमण देखिएपछि ती कार्यालयहरु बन्द रहेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।

प्रतिक्रिया दिनुहोस्